राष्ट्रव्यापी पावर लिफ्टिङको तयारी पूरा

रुप कार्की स्मृति प्रथम नेपाल्स स्ट्रोङगेष्ट राष्ट्रव्यापी पावर लिफ्टिङमा सहभागी खेलाडी नियम बारे जानकारी गराइदै ।

काठमाडौं (खेलदैनिक) । नेपाल पावर लिफ्टिङ संघको आयोजनामा हुने रुप कार्की स्मृति प्रथम नेपाल्स स्ट्रोङगेष्ट राष्ट्रव्यापी पावर लिफ्टिङको तयारी पूरा भएको आयोजक कमिटीका सचिव सुरेश सुवेदीले जनाएको छन् ।

प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार हुँदैछ । प्रतियोगितामा ७३ पुरुष र २८ महिला गरी जम्मा १ सय १ खेलाडीको सहभागिता रहने छ । शुक्रबार खेलाडीको वजन लिनुका साथै खेलाडीलाई नियमका बारेमा पनि जानकारी गराइएको जजेज कमिटीका संयोजक बुद्धि कार्कीले जानकारी गराए ।

पुरुषतर्फ ६, महिलामा २ र पुरुष मास्टर्समा २ गरी जम्मा १० स्पर्धामा प्रतिस्पर्धा हुने छ । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

पुरुष र महिलातर्फ प्रत्येक स्पर्धामा पहिलो हुने खेलाडीबीच पुनः प्रतिस्पर्धा गराइ ओभरअल च्याम्पियन पनि घोषणा गरिने छ । त्यसको विजेताले छुट्टै जनही ५१ हजार नगद पुरस्कार हात पार्ने छन् ।

अमेरिकामा बस्दै आएका पावर लिफ्टिङका मास्टर्सतर्फका दुई पटकका विश्व च्याम्पियन स्व. कार्कीको स्मृतिमा प्रतियोगिता हुन लागेको हो । स्मरण रहोस, केहि महिनाअघि उनको हृदयघातका कारण निधन भएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...