भक्तपुरको दुवै वडा फाइनलमा

काठमाडौं (खेलदैनिक) । भक्तपुर नगरपालिकाको दुवै वडा भ्याली कन्स्ट्रक्सन देशव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्ट्समा सोमबार फाइनलमा प्रवेश गरेको छ ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भक्तपुर नगरपालिका २ ले काठमाडौं महागरपालिका २ लाई ३–० तथा भक्तपुर नगरपालिका ८ ले ललितपुर महागरपालिका १२ लाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन् ।

प्रतियोगितामा पुरुषमा २६ टिमका ४ सय ३३ खेलाडीको सहभागिता छ । महिलामा ८ टिमका ९० खेलाडी सहभागी छन् । पुरुष–महिला सिंगल्स र टिम तथा भेट्रान ४० वर्षमाथि र ४५ वर्षमाथि गरी ६ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ ।

पुरुष–महिला सिंगल्सका विजेताले ३० हजार, उपविजेताले १५ हजार र तेश्रो हुनेले ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् । शीर्ष १६ वरीयतामा रहेका खेलाडीले सहभागिताको अवसर पाउने छैनन् ।

भेट्रानमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद पाउने छन् । टिम च्याम्पियन वडालाई ५० हजार नगदबाट पुरस्कृत गरिने छ । प्रतियोगिता चैत ७ गतेसम्म चल्ने छ ।


प्रतिक्रिया दिनुहोस

Loading...