अन्तिम चारमा युभेन्टसको सम्भावना कायमै (भिडियोसहित)

एजेन्सी । भेट्रान गोलरक्षक जियानलुइजि बुफोनले पेनाल्टी रोकेको खेलमा इटालियन सिरि ए तर्फ युभेन्टसले सासुओलोमाथि ३–१ को महत्वपुर्ण जित हात पारेको छ । साथै यो जितसँगै युभेन्टसले आगामी सिजनको च्याम्पियन्स लिगमा सोझै छनौट हुने सम्भावनालाई पनि कायम राखेको छ ।

हाल ४३ बर्षको उमेरमा समेत सक्रिय रहेका बुफोनले यस सिजनको समाप्तीसँग युभेन्टस छाड्ने घोषणा गरिसकेका छन् । बुधबार राती सासुओलोले पहिलो हाफ मै पेनाल्टीको अवसर पाएको थियो । १६औं मिनटमा डोमिनिको बेरार्डीले गरेको पेनाल्टी प्रहार बुफोनले बिफल तुल्याईदिंदा सासुओलोले शुरुवाती अग्रता लिन चुकेको थियो ।

त्यसपछि २८औं मिनटमा एड्रिन रेबियोले युभेन्टसका लागि पहिलो गोल गरेका थिए । पहिलो हाफ कै ४५औं मिनटमा क्रिष्टियानो रोनाल्डोले त्यो अग्रता दोब्बर पारे । यद्यपि दोस्रो हाफको ५९औं मिनटमा जियाकोमो रास्पाडोरीले सासुओलोका लागि पहिलो गोल फर्काउँदै टोलीलाई खेलमा फर्काउने प्रयास पनि गरे । तर सफल भएनन् ।

पहिलो गोल खाए लगतै युभेन्टसका लागि ६६औं मिनटमा पाउलो डायबलाले तेस्रो गोल गर्दै टोलीको महत्वपूर्ण जित पक्का गरेका थिए । यो जितसँगै ३६ खेलबाट ७२ अंक जोडेको युभेन्टस पाँचौं स्थानमा छ र चौथो स्थानको टोली नापोली भन्दा एक अंकले मात्र पछाडी छ ।

उता युभेन्टससँग पराजित सासुओलो भने ५६ अंकका साथ लिगतालिकाको आठौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...