डिफेन्डिङ च्याम्पियन पिएसजी फाइनलमा (भिडियोसहित)

एजेन्सी । सर्वाथिक १३ पल्टको विजेता तथा डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) प्रतिष्ठित फ्रेन्च कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार अबेर राती सम्पन्न पहिलो सेमिफाइनलमा पिएसजीले मोन्टपिलरमाथि पेनाल्टी शुटआउटमा ६–५ को जित निकाल्यो ।

त्यसअघि मोन्टपिलरको घरेलु मैदानमा सम्पन्न निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । खेलको दशौं मिनटमा काइलन एम्बाप्पेको गोलबाट अग्रता बनाएको पिएसजीले त्यसलाई पहिलो हाफसम्म पनि कायम राख्न सकेन ।

पहिलो हाफ कै ४५औं मिनटमा गेटन लाबोर्डेले मोन्टपिलरका बराबरी गोल फर्काएका थिए । यद्यपि दोस्रो दोस्रो हाफको ५०औं मिनटमा एम्बाप्पेले फेरि पिएसजीलाई खेलमा दोस्रोपटक अग्रता दिलाए । तर पिएसजीले त्यो अग्रता पनि अन्तिम दश मिनट जोगाउन सकेन ।

खेलको ८३औं मिनटमा एन्डी डेलोर्टले मोन्टपिलरका लागि दोस्रो बराबरी गोल फर्काउँदै खेललाई २–२ को बराबरीमा ल्याएका थिए । तर पेनाल्टी शुटआउटमा भने पिएसजीले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

पिएसजीले फाइनलमा चौथो डिभिजनको टोली भेलिरेस र मोनाकोबीच बिहीबार राती हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ । फाइनल खेल भने यहि मई १९ तारीखका दिन हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...