बार्साको रोमाञ्चक जितमा मेसीको दुई गोल (भिडियोसहित)

एजेन्सी । स्पेनिस ला लिगातर्फ आइतबार अबेर राती भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियामाथि ३–२ को प्रतिस्पर्धात्मक र रोमाञ्चक जित निकालेको छ । यो जितसँगै बार्सिलोनाले लिगलिडर एटलेटिको मेड्रिड र दोस्रो स्थानको टोली रियल मेड्रिडमाथि पनि दबाब कायम राख्न सफल भयो ।

भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा पाँचै गोल दोस्रो हाफमा भएको थियो । साथै खेलमा गोलको खाता पनि भ्यालेन्सियाले नै खोलेको थियो । खेलको ५०औं मिनटमा ग्याब्रिल पाउलिस्टाले भ्यालेन्सियाले खेलमा अग्रता दिलाएका थिए ।

तर लगतै ५७औं मिनटमा लियोनल मेसीले बराबरी गोल फर्काए । ६३औं मिनटमा एन्टोइन ग्रीजम्यानले गोल गर्दा बार्साले खेलमा २–१ को अग्रता बनाएको थियो । त्यसको ६ मिनट लगतै मेसीले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । जुन खेलको निर्णायक गोल पनि बनेको थियो ।

उता भ्यालेन्सियाका लागि खेलको ८३औं मिनटमा कार्लोस सोलेरले दोस्रो गोल फर्काए तापनि घरेलु टोलीको हार भने टार्न सकेनन् । यो जितसँगै ३४ खेलबाट ७४ अंक जोडेको बार्सिलोना लिगतालिकाको दोस्रो स्थानमा छ । समान ७४ अंकका साथ रियल दोस्रो स्थानमा छ भने लिगलिडर एटलेटिकोको ७६ अंक छ ।

उता आइतबार बार्सिलोनासँग पराजित हुन पुगेको भ्यालेन्सियाको भने ३६ अंक छ र लिगतालिकाको १४औं स्थानमा छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...