लिगलिडरमाथि पिएसजीको दबाब कायमै (भिडियोसहित)

एजेन्सी । यस सिजन केही मिश्रित प्रदर्शन गरिरहेको साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा लिगलिडर लिलेमाथि दबाब पनि कायम राखेको छ ।

बुधबार घरेलु मैदानमा भएको खेलमा पिएसजीले निमेसमाथि ३–० को जित निकाल्यो र शिर्ष स्थानको टोली लिलेमाथि दबाब कायम राख्यो । पिएसजीको जितमा खेलको १८औं मिनटमा एन्जल डि मारियाले पहिलो गोल गरे ।

सहज जित निकालेको पिएसजीका लागि ३६औं मिनटमा पाब्लो सरबियाले दोसे गोल गरे । त्यस्तै दोस्रो हाफको ६८औं मिनटमा काइलन एम्बाप्पेले तेस्रो गोल थप्दै घरेलु टोलीको सहज जित पक्का गरेका थिए ।

यो जितसँगै २३ खेलबाट ४८ अंक जोडेको पिएसजी तेस्रो स्थानमा छ । र लिगलिडर लिले भन्दा तीन अंकले पछाडी छ । लिलेले बुधबार राती नै भएको खेलमा बोर्डक्सलाई ३–० ले हराएको थियो । त्यस्तै ४९ अंकका साथ लियोन दोस्रो स्थानमा छ । लियोनले पनि बुधबार डिजोन माथि १–० को जित निकालेको थियो ।

उता पिएसजीसँग पराजित हुन पुगेको निमेस भने २२ खेलबाट १५ अंकका साथ लिगतालिकाको पुछारमा छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...