नेमारको दुई गोलले पनि जोगिएन पिएसजीको हार

एजेन्सी । फ्रेन्च लिग वानतर्फ आइतबार ब्राजिलियन स्टार नेमारले दुई गोल गरे तापनि लिगलिडर पेरिस सेन्ट जर्मेन (पिएसजी) ले रेलिगेशन क्षेत्रको टोली लोरिन्टसँग ३–२ को निराशाजनक हार बेहोरेको छ ।

लोरिन्टको घरेलु मैदानमा भएको खेलको ३६औं मिनटमा लाउरेन्ट एबरजेलको गोलबाट घरेलु टोलीले खेलमा अग्रता लिएको थियो । तर पहिलो हाफ कै अन्तिमतिर नेमारलाई विपक्षी खेलाडीले बक्स भित्र लडाएपछि पिएसजीले पेनाल्टीको अवसर पाएको थियो । जसलाई ४५औं मिनटमा नेमारले नै गोलमा परिणत गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

त्यस्तै दोस्रो हाफमा पिएसजीले फेरि पेनाल्टीको अवसर पाएको थियो । माउरो इकार्डीले लोरिन्टका खेलाडीले बक्स भित्र लडाएपछि पिएसजीले दोस्रो पेनाल्टी पाएको थियो । जसलाई पनि नेमारले ५८औं मिनटमा कुनै गल्ती नगरी गोलमा परिणत गर्न सफल भएका थिए ।

तर त्यो २–१ को अग्रता पिएसजीले जोगाउन सकेन । खेलको ८०औं मिनटमा योने विसाले लोरिन्टका लागि दोस्रो गोल गर्दा खेल २–२ को बराबरीमा पुगेको थियो । तर लोरिन्टले पिएसजीलाई अन्तिम समयतिर निराश बनायो । ९०+१औं मिनटमा तेरेम मोफीले लोरिन्टका लागि तेस्रो गोल गर्दा पिएसजी स्तब्ध बन्न पुगेको थियो ।

यो हारसँगै २२ खेलबाट ४५ अंक जोडेको पिएसजी तेस्रो स्थानमा छ र शिर्ष स्थानको टोली लिले भन्दा ३ अंकले पछाडी छ । उता महत्वपूर्ण जित निकालेको लोरिन्ट भने २१ खेलबाट १८ अंकका साथ रेलिगेशन क्षेत्रको १८औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...