अर्जेन्टिनी लिजेण्ड म्याराडोनाको निधन

एजेन्सी । अर्जेन्टिनी लिजेण्ड तथा सुपरस्टार डिएगो म्याराडोनाको ६० बर्षको उमेरमा हृदयघातका कारण बुधबार निधन भएको छ । रिपोर्टअनुसार यसै नोभेम्बरको शुरुवातमा मस्तिष्कको शल्यक्रिया गरेका म्याराडोनाले ब्युनस आयर्सको टिग्रे स्थित आफ्नै निवासमा आराम गरिरहेका थिए ।

उनको निधनबारे अर्जेन्टिनी फुटबल टोलीको आधिकारिक ट्वीटर एकाण्टले पुष्टी गरेको छ । अर्जेन्टिना एफएले पनि यसबारे पुष्टी गरेको छ । आधुनिक फुटबल कै सर्वकालिन उत्कृष्ट फुटबलर मध्ये एकमा गनिएका म्याराडोनाले १६ बर्षको उमेरमै अर्जेन्टिनोस जुनियर्सबाट व्यवसायीक फुटबलको यात्रा शुरु गरेका थिए ।

त्यसपछि बोका जुनियर्स, बार्सिलोना हुँदै नापोली र सेभियामा आवद्ध भएर पनि व्यवसायीक फुटबल खेलेका थिए । उनले आफ्नो क्लब फुटबलको अन्तिम दिनहरुमा सन् १९९७ सम्म बोका जुनियर्सका लागि खेले ।

त्यति मात्र नभएर अर्जेन्टिनालाई उनले आफ्नै कप्तानीमा सन् १९८६ मा फिफा विश्वकपको उपाधि जिताएका थिए । त्यतिबेला फाइनलमा अर्जेन्टिनाले पश्चिम जर्मनीलाई ३–२ ले हराउँदै उपाधि जितेको थियो । त्यसको चार बर्षपछि पनि म्याराडोनाले अर्जेन्टिनालाई विश्वकपको फाइनलमा पुराएका थिए । यद्यपि त्यतिबेला अर्जेन्टिनाले पश्चिम जर्मनीसँगै हार बेहोरेको थियो ।

देशका लागि ९१ म्याच खेल्दै ३४ गोल गरेका म्याराडोनाले अर्जेन्टिना लगायत अन्य विभिन्न क्लबहरुको प्रशिक्षकीय जिम्मेवारी समेत निभाएका थिए । तर उनको प्रशिक्षकीय करियर खेलाडी जीवनको जस्तो सफलतम भने बन्न सकेन । तर पनि उनी विश्व फुटबल र समर्थकहरु माझ लिजेण्डरी फुटबलरका रुपमा रहिरहन सफल भए ।


प्रतिक्रिया दिनुहोस

Loading...