फुटबल खेलाडी र अफिसियललाई खेलस्थल मै कोभिड विरुद्धको खोप !

काठमाडौं (खेलदैनिक) । कोरोना महामारीका कारण खेलक्षेत्र नै ठप्प भईरहेका बेला नेपाल सरकारले फुटबल खेलाडी तथा अफिसियलहरुलाई खेलस्थल मै कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिएको छ ।

यो कुराको आश्वासन नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले दिएका हुन् । बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायत अन्य एन्फा पदाधिकारीहरुले मन्त्री श्रेष्ठलाई भेटेर यसबारे आवश्यक कुरा राखेर छलफल गरेका थिए ।

“मन्त्री ज्युले एन्फा मातहत हुने सबै फुटबल प्रतियोगिताहरुमा कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिनुभएको छ ।” एन्फा अध्यक्ष शेर्पाले भने । उनका अनुसार सरकारको तर्फबाट यसो हुन सके खेलाडी तथा अफिसियलहरुको स्वास्थ्य सुरक्षामा यसले धेरै हदसम्म राहतको काम गर्ने बताए ।

स्मरण रहोस, एन्फाले यहि आउँदो भाद्र १ गतेदेखि शहिद स्मारक सी डिभिजन लिग छनौट प्रतियोगिताको आयोजना गर्दैछ । त्यस्तै आउँदो कार्तिक २९ गतेदेखि ए डिभिजन लिगको आयोजना गर्ने पनि घोषणा गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...