कञ्चनजंगा एफसी क्वाटरफाइनलमा

सर्लाही (खेलदैनिक) । पाहुना टोली कञ्चनजंगा एफसी, सिलिगुडी (भारत) यहाँ जारी पाँचौं राजर्षि जनक कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बागमती नगरपालिका–११ स्थित सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा सम्पन्न प्रिक्वाटरफाइनलमा कञ्चनजंगाले घरेलु टोली बागमती युवा क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो ।

कञ्चनजंगाको जितमा खेलको २१औं मिनटमा अनमोल दहालले एक मात्र निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच भने कञ्चनजंगा कै सन्दिप लिम्बु घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत चैत्र २४ गते मंगलबारको प्रिक्वाटरफाइनल खेल नव जनजागृति युवा क्लब, सिमरा र सुदुरपश्चिम–११, सुदुरपश्चिमबीच हुने आयोजकले जनाएको छ ।

बागमती नगरपालिका र बागमती युवा क्लब, सर्लाहीको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल भने यहि चैत्र ३० गतेका दिन हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...