नेपाली फुटबलले पायो कुवेती प्रशिक्षक

काठमाडौं (खेलदैनिक) । एएफसीले प्रो लाइसेन्स प्राप्त प्रशिक्षकलाई मात्र राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गर्नुपर्ने निर्देशन जारी गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले अब्दुल्लाह अल्मुताइरीलाई राष्ट्रिय फुटबल टोलीको नयाँ प्रशिक्षक नियुक्त गरेको छ ।

स्मरण रहोस, कतार फुटबल एसोसियसनको विशेष सहयोगमा अब्दुल्लाह गत चैत्र ६ गतेका दिन नेपाल आएका थिए । एएफसी कोचिङ इन्स्ट्रक्टर समेत रहेका अब्दुल्लाहलाई एन्फाको टेक्निकल कमिटीको सिफारिशमा मुख्य प्रशिक्षकमा नियुक्त गरिएको एन्फाले जनाएको छ ।

अब्दुल्लाहले पूर्व प्रशिक्षक बालगोपाल महर्जनको स्थान लिने छन् । एन्फाका अनुसार अब्दुल्लाहले नेपाल आउनु अघि कुवेत र साउदी अरबका विभिन्न क्लबहरुको जिम्मेवारी समेत सम्हालेका थिए । साथै उनले किर्गिस्तानको यु–१६ फुटबल टोलीको जिम्मेवारी पनि सम्हालेको एन्फाले जनाएको छ ।

मुख्य प्रशिक्षकमा नियुक्त भएपछि खुशी व्यक्त गरेका अब्दुल्लाहले आफूले नेपाली फुटबल र खेलाडीहरुलाई राम्रोसँग बुझने प्रयास गरेको बताए । साथै नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारीलाई आफूले एउटा चुनौतिका रुपमा लिएको समेत बताए ।

अब्दुल्लाहको नियुक्तिसँगै उनले विश्वकप छनौटमा नेपालले खेल्न बाँकी रहेको ३ खेल र साफ च्याम्पियनसिपमा नेपाली टिम हेर्ने बताइएको छ । साथै उनको राष्ट्रिय फुटबल टोलीसँगको सम्झौता एक बर्षका लागि रहेको समेत एन्फाले बताएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...