अपराजित स्टार सिटी बन्यो प्रेसिडेन्ट लिग च्याम्पियन

नेपालगंज (खेलदैनिक) । आइतबार सम्पन्न एन्फा प्रेसिडेन्ट लिगमा अपराजित रहेको स्टार सिटी युवा क्लब, कैलालीले प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।

नेपालगन्ज रंगशालामा भएको लिगको अन्तिम दिन स्टार सिटीले गण्डकी प्रदेशको त्रिवेणी युवा क्लबलाई ३–२ ले हरायो । स्टार सिटीको जितमा रुप बहादुर बहादुर लामाले ५३औं मिनेट, चेतमान कठायतले ५६औ मिनेट र ५९औं मिनेटमा गोल गरे । उता त्रिवेणीका लागि विश्व अधिकारीले ८९औं मिनेट र सरोज योन्जनले ९०औं मिनेटमा गोल गरेका थिए ।

त्यस्तै आइतबार नै भएको अर्को खेलमा मनकामना युवा क्लब, रौतहटले सैनिक युथ क्लब, झापालाई २–१ ले पराजित गर्यो । मनकामनाको जितमा भुवन बस्नेतले २९औं मिनेट र विके राईले ५८औं मिनेटमा गोल गरेका थिए । खेलमा पराजित मनकामनाका एन्जल श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।

आइतबारको नतिजासँगै स्टार सिटी १६ अंक सहित शिर्ष स्थानमा रहँदा लुम्बिनी प्रदेशको धम्बोझी क्लब १२ अंकका साथ दोस्रो, मनकामना युवा क्लब, रौतहट तेस्रो र त्रिवेणी युवा क्लब चौथो स्थानमा रहँदै राष्ट्रिय लिगका लागि छनोट हुन समेत सफल भए ।

स्टार सिटीलाई उपाधिसहित १० लाख

च्याम्पियन बनेको स्टार सिटीले उपाधिसहित १० लाख हात पार्यो भने धम्बोझीले ५ लाख प्राप्त गर्यो । फेयर प्ले टिमका रुपमा मनकामना युवा क्लबले ५० हजार प्राप्त गर्यो । त्

यसैगरी प्रतियोगिताको उत्कृष्ट गोलरक्षक स्टारका टेकेन्द्र सिंह थापा घोषित भए भने उत्कृष्ट रक्षक स्टारकै धन राज थापा चुनिए । उत्कृष्ट मिडफिल्डर पनि स्टारकै राजेन्द्र रावल बन्दा उत्कृष्ट फरवार्ड धम्बोझीका निशान लिम्बु घोषित भए ।

त्यस्तै उत्कृष्ट प्रशिक्षक भने स्टार सिटीका ललित चन्द्र घोषित भए । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेकाहरुले जनही २५–२५ हजार प्राप्त गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी स्टार सिटीका रुप बहादुर लामा घोषित भए । उनले नगद रु ५० हजार प्राप्त गरे ।

विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाल, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, नेपाल ओलम्पिक कमिटी सदस्य एवम एन्फा केन्द्रिय दिर्घ बहादुर केसी, लुम्बिनी प्रदेश फुटबल संघ अध्यक्ष भुपेन्द्र विक्रम थापा, उपाध्यक्ष अजित राज भण्डारी, सुर्यमणि अधिकारी, धनगढी उप–महानगरपालिका मेयर नृप बहादुर ओड र नेपालगन्ज उप–महानगरपालिका उपमेयर उमा थापामगर लगायतले पुरस्कृत गरे ।

चैतको २ गतेबाट सुरु भएको प्रतियोगितामा सात प्रदेशका लिग च्याम्पियन टोलीले प्रतिस्पर्धा गरेका थिए । अब एन्फा प्रेसिडेन्ट लिगका शिर्ष चार टोलीहरुले सहिद स्मारक ए डिभिजन लिगका शिर्ष ६ टोलीहरुसँग राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्ने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...