राजेशको निर्णायक गोलसँगै मच्छिन्द्र सेमिफाइनलमा

हेटौडा (खेलदैनिक) । लिग च्याम्पियन मच्छिन्द्र क्लब हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता–२०७७ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमा सोमबार भएको क्वाटरफाइनल भिडन्तमा मच्छिन्द्रले संकटा क्लबमाथि १–० को साँघुरो जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको हो ।

मच्छिन्द्रको जितमा युवा फरवार्ड राजेश परियार निर्णायक रहे । उनले खेलको २४औं मिनटमा गरेको एक मात्र गोल मच्छिन्द्रलाई सेमिफाइनल पुर्याउन प्रर्याप्त बन्यो ।

मच्छिन्द्रले सेमिफाइनलमा चैत ४ गतेका दिन आयोजक रिगल हेटौडा रिसोर्ट मकवानपुर–११ सँग खेल्नेछ । सोमबारको खेलको म्यान अफ द म्याच निर्णायक गोलकर्ता राजेश परियार नै घोषित भए ।

प्रतियोगिताअन्तर्गत् चैत ३ गते मंगलबारको अन्तिम क्वाटरफाइनल खेल विदेशी क्लब अफ्रिकन रुटस एसोसिएसन क्यामरुन र बागमती युवा क्लब सर्लाहीको टोलीवीच हुनेछ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा जिल्लाका सवै स्थानीय तहको सहयोगमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि चैत ७ गतेका दिन हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...