नेपाल सुपर लिगको क्लब र मालिकको घोषणा

काठमाडौं (खेलदैनिक) । नेपाली फुटबलको इतिहास मै पहिलोपटक आयोजना हुन गईरहेको फ्रेन्चाईज फुटबल अर्थात नेपाल सुपर लिग (एनएसएल) मा सहभागिता जनाउने क्लब र त्यसका मालिकको घोषणा गरिएको छ ।

आइतबार होटल क्राउन प्लाजामा आयाजित एक कार्यक्रमका बीच लिगमा सहभागता जनाउने ७ फरक फ्रेन्चाईज क्लबहरुको घोषणा गरिएको हो ।

आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले आइतबार पत्रकार सम्मेलनको आयोजना गरि लिगमा देशका ७ फरक शहरहरुको एक–एक टोलीहरुले सहभागिता जनाउने जानकारी दियो ।

सहभागी टोलीहरुमा बिराटनगर सिटी एफसी, काठमाडौं रेन्जर्स एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी रहेका छन् ।

साथै सो अवसरमा आयोजकले लिगमा सहभागिता जनाउने टोलीहरुको मालिकको नामावली समेत घोषणा गरेको छ । जसअन्तरगत बिराटनगरको मालिक अनुप रन्जन भट्टराई रहेका छन् भने काठमाडौं रेन्जर्सका मालिक चिरन्जिवी साह रहेका छन् ।

त्यसैगरी ललितपुर सिटीकी मालिक कामना गुरुङ रहेकी छिन् भने एफसी चितवनका मालिक चन्द्र ढकाल रहेका छन् । त्यस्तै पोखरा थन्डर्सका मालिक निराकार श्रेष्ठ रहेका छन् भने बुटवल लुम्बिनीका राजकुमार तिमल्सिना रहेका छन् ।

धनगढीको मालिक भने सुवास शाही छन् । राउण्ड रोबिन लिगका आधारमा हुने सुपर लिगका सबै खेलहरु काठमाडौं स्थित दशरथ रंगशालामा सञ्चालन हुनेछन् ।

आउँदो बैशाख ११ देखि २५ गतेसम्म चल्ने प्रतियोगितामा कुल १९ खेलहरु हुने छन् । यद्यपि आयोजकले लिगको पुरस्कार राशीबारे भने केही खुलाएको छ ।

प्रतियोगितामा अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोग रहने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...