बडहरा बन्यो फुर्शेकाली कपको च्याम्पियन

दाङ (खेलदैनिक) । प्रथम फुर्शेकाली कप रनिङ फुटबल प्रतियोगिताको उपाधि बडहरा युवा क्लबले जितेको छ । फाइनलमा बबई फुटबल एकेडेमीलाई ४–१ ले हराउँदै बडहराले उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।

नवलपुर खेलमैदानमा सम्पन्न फाइनल भिडन्तमा बडहराका लागि आशिष पुन र आशिष जिसीले समान २–२ गोल गरे । उता पराजित बबईका लागि बादल योगीले एक मात्र सान्त्वना गोल फर्काए ।

बिजेता बनेको बडहराले उपाधिसहित नगद ५५ हजार हात पार्यो भने उपविजेता बबईले२५ हजारमा चित्त बुझायो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बडहरा कै बिक्रम बिक घोषित भए ।

त्यस्तै उत्कृष्ट गोलरक्षक बडहराका जिनिएस केसी चुनिए भने उत्कृष्ट डिफेन्डर पनि बडहरा कै तिलक घर्ती घोषित भए । उत्कृष्ट मिडफिल्डर भने बबईका सुरज तामाङ बने ।

त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार बडहराका आशिष पुनले हात पारे भने उत्कृष्ट प्रशिक्षक पनि बडहरा कै इराक घर्ती घोषित भए । अनुशाषित टिम भने हापुर युथ क्लब बन्यो ।

विजयी खेलाडीहरुलाई फाइनल खेलका प्रमुख अतिथी लुम्बिनी प्रदेश निर्माण व्यवसायी संघका अध्यक्ष बलिभद्र राणा लगायत अन्य अतिथीहरुले पुरस्कृत गरेका थिए ।

फुर्शेकाली क्लब, घोराही–१८ दाङको आयोजनामा फागुन २२ गतेदेखि शुरु प्रतियोगितामा कुल १८ टोलीहरुले सहभागिता जनाएको खेल संयोजक मदन पुन मगरले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...