रोमाञ्चक जितका साथ चर्च ब्वाईज सेमिफाइनलमा

तेह्रथुम (खेलदैनिक) । रोमाञ्चक जितका साथ चर्च ब्वाईज युनाइटेड, काठमाडौं जारी दोस्रो भगिमान सिंह स्मृति गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार म्याङलुङ खेलमैदानमा भएको तेस्रो क्वाटरफाइनलमा चर्च ब्वाईजले फिदिम स्र्पोटिङ क्लबलाई ३–२ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

चर्च ब्वाईजका लागि खेलको १३औं मिनटमा भुवन बस्नेतले पहिलो गोल गरेका थिए । दोस्रो हाफको पाँचौं मिनटमा मिलन राईले चर्च ब्वाईजको त्यो अग्रता दोब्बर पारे । दोस्रो हाफ कै २०औं मिनटमा सन्तोष न्यौपानेले त्यो अग्रता तेब्बर पारे । जुन चर्च ब्वाईजको जितको लागि निर्णायक बन्यो ।

उता फिदिमका लागि रोशन आङदेम्बे र साजन बस्नेतले लगातार दुई गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे तापनि सफल भएनन् । खेलको म्यान अफ द म्याच चर्च ब्वाईजका कप्तान मिलन राई घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार प्राप्त गरे ।

प्रतियोगिता अन्तरगत कार्तिक २३ गते सोमबारको खेल जलथल एफसी, झापा र गाईघाट एफसी, उदयपुरबीच हुने आयोजकले जनाएको छ ।

भगिमान तुम्बाहाङफे स्मृति प्रतिष्ठान, म्याङलुङ–२, तेह्रथुमको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ । प्रतियोगिताको फाइनल खेल यहि मंसिर २६ गतेका दिन हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...