झापा एफसीलाई उपाधि

अर्जुनधारा (खेलदैनिक) । झापाको अर्जुनधारा–६ मा सम्पन्न तेस्रो कप्तानबारी झापा जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि झापा एफसी राजगढले जितेको छ ।

स्थानीय दिपज्योति खेल मैदानमा बिहीबार सम्पन्न फाइनल खेलमा शनिश्चरे फुटबल क्लबलाई आर्जुनधारालाई १–० को झिनो अन्तरले हराउँदै झापा एफसी विजेता बनेको हो ।

झापा एफसीको जीतमा खेलको ५३औं मिनेटमा रोमन तामाङले एक मात्र निर्णायक गोल गरेका थिए । प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः नगद पुरस्कार ३० हजार र २० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।

त्यसैगरी प्रतियोगिताको म्यान अफ दी टुर्नामेन्ट शनिश्चरेका सौरभ लिम्बू, फाइनल खेलको म्यान अफ दी म्याच झापाका सुभम राया, बेस्ट गोलकिप्पर झापा एफसीका राजकुमार लिम्बू, बेस्ट डिफेन्डर शनिश्चरेका प्रमोद चौधरी, बेस्ट मिडफिल्डर झापाका गोकुल राजवंशी, बेस्ट फरवार्ड झापाका गणेश मुर्मू र हाइ स्कोरर बिर्तामोड युनाइटेडका आशिष चापागाईं घोषित भए ।

कप्तानबारी युवा क्लबको आयोजनामा भएको प्रतियोगिताको प्रथम पुरस्कार खेलकुदप्रेमी हरिशचन्द्र बाँस्तोला र द्वितीय पुरस्कार दाताद्वय चन्द्र प्रसाईं र हरि ओलीले प्रायोजन गरेका थिए ।

क्लबका अध्यक्ष श्याम दनुवारको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा स्थानीय देवी पाथीभरा इङ्लिस स्कूलका विद्यार्थीहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन करातेका राष्ट्रिय प्रशिक्षक दुर्गाराज निरौलाले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...