हेटौडामा कोकाकोला कप शुरु, बालज्योतिको विजयी शुरुवात

हेटौंडा (खेलदैनिक) । कोकाकोला कप विद्यालयस्तरीय फुटबल प्रतियोगिता–२०७४ को उद्घाटन खेलमा बालज्योति मावि पिप्ले विजयी शुरुवात गरेको छ । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा बालज्योति मा.वि.ले साविक विजेता महेन्द्र मावि, भीमफेदीलाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

खेलमा विजयी टोली बालज्योतिका गोलरक्षक अनन्त पाठक खेलको म्यान अफ दी म्याच घोषित भए । अखिल नेपाल फुटबल संघ मकवानपुरको आयोजनामा हेटौंडा–९, औद्योगिक क्षेत्रको खेल मैदानमा मंगलबारबाट सुरु प्रतियोगिताको उद्घाटन नेपाल उद्योग बाणिज्य महासंघ केन्द्रीय सदस्य अरुणराज सुमार्गीले गरेका थिए ।

प्रतियोगिताको उद्घाटन गर्दै उनले विद्यालयस्तरीय फुटबल खेलाडी उत्पादनको कडी भएको बताएका थिए । उद्घाटन समारोहमा मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष माधव तिमल्सिना, फुटबल संघ प्रथम उपाध्यक्ष अतुल बर्मालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी सहायक निरीक्षक बिष्णुबहाुदर अधिकारी तथा एन्फा मकवानपुर प्रशिक्षक विजयलाल श्रेष्ठलगायतको उद्घाटन समारोहमा उपस्थिती रहेको थियो । प्रतियोगितामा जिल्लाका कुल १६ विद्यालयहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।

अखिल नेपाल फुटबल संघ मकवानपुरका सदस्य तथा प्रतियोगिता संयोजक युवराज लामाका अनुसार नकाउट आधारमा सञ्चालन हुने प्रतियोगिताको फाइनल साउन ११ गते बुधबार हुनेछ । ‘प्रतियोगिताको विजेता विद्यालयले दोस्रो चरणमा सहभागी हुन पाउनेछ ।

संयोजक लामाले यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । प्रतियोगिता हुप्रचौरमा गर्ने तयारी भएपनि प्राविधिक कारणले औद्योगिक क्षेत्रमा सारिएको उनले बताए । “विद्यालयको आन्तरिक परीक्षा र वर्षात्को समय भएकाले सोचेअनुसार विद्यालयहरु सहभागी भएनन् । गतवर्षको तुलनामा धेरै विद्यालय सहभागी भएका छन् । प्रतियोगिता पनि प्रतिस्पर्धात्मक हुने विश्वास लिएका छौं’,” उनले भने ।

प्रतियोगिताअन्तर्गत् बुधबार सिद्धार्थ मावि हेटौंडाले अरनिको मावि र दिपज्योति आधारभूतले ज्योति माविको सामना गर्नेछ । प्रतियोगितामा बाराही मावि, गोरक्षनाथ मावि, श्रमिक मावि, मकवानपुर एभरेष्ट बोर्डिङ, प्रगति मावि, रसस्ल एकेडेमी, आधुनिक राष्ट्रिय मावि र जनप्रिय नमूना मावि, जेनिथ इन्टरनेशनल बोर्डिङ र सुन्दरीदेवी मावि सहभागी रहेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...