पहिलो खेलमै नेपालको फराकिलो हार

(फाइल फोटो)

काठमाडौं (खेलदैनिक) । एएफसी यु–२३ च्याम्पियनसिप छनौट अन्तरगत नेपालले पहिलो खेलमै फराकिलो पराजय बेहोरेको छ ।

शनिबार सम्पन्न समूह डी तर्फको पहिलो खेलमा नेपाल आयोजक युएईसँग शून्यकाविरुद्ध ५ गोलले पराजित भएको छ ।
घरेलु टोलीसामू निरीह देखिएको नेपालले पहिलो हाफमै चार गोल खान पुगेको थियो ।

खेलको ८ औं मिनटमै युएईका लागि अहमद हुसेनले पेनाल्टीबाट गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । लगतै खेलको २० औं मिनेटमा हुसेनले नै व्यक्तिगत दोस्रो गोल गर्दै खेलमा घरेलु टोलीलाई २–० को अग्रता दिलाएका थिए ।

दोस्रो गोल खाएको तीन मिनेट बित्न नपाउँदै २३ औं मिनटमा मोहम्मद अलकबेनले गोल गर्दै युएईको अग्रता तेब्बर पारेका थिए ।

घरेलु टोलीसामू निकै फितलो प्रदर्शन गरेको नेपालले ३३ औं मिनटमा चौथो गोल खान पुगेको थियो । युएईका लागि चौथो गोल अब्दुल रहिमले गरे । पहिलो हाफमा ४ गोल गरेको युएईले दोस्रो हाफमा थप एक गोल गर्न सफल भएको थियो ।

अधिकांश समय नेपालविरुद्ध हावी देखिएको युएईका लागि खेलको ६० औं मिनटमा मोहम्मद रसिदले गोल गर्दै युएईलाई ५–० को फराकिलो जित दिलाए ।

खेलमा कुनै पनि बेला नेपालले गतिलो आक्रमण गर्न सकेन । शनिबार नेपालको रक्षापंक्ति पनि फितलो देखियो ।
छनौट खेल अन्तरगत नेपालले अब दोसं्रो खेल सोमबार उज्बेकिस्तानसँग खेल्नेछ । समूह डी अन्तरगत नेपालसँगै आयोजक युएई, उज्बेकिस्तान र लेबनान रहेका छन् ।

 


प्रतिक्रिया दिनुहोस

Loading...