अफ्रिदीले इपिएलमा सबै म्याच नखेल्ने

काठमाडौं (खेलदैनिक) । बहुप्रतिक्षित बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करण खेल्न नेपाल आइपुगेका विश्व चर्चित पाकिस्तानी अलराउण्डर शाहिद अफ्रिदीले इपिएलमा सबै खेलहरु नखेल्ने भएका छन् ।

बिहीबार मात्र काठमाडौं ओर्लिएका अफ्रिदीले केवल दुई म्याच खेल्ने बताइएको छ । अफ्रिदीले काठमाडौं किंग्स ११ का लागि खेल्नेछन् । साथै काठमाडौंले इपिएपलको उद्घाटन खेलमै साविक विजेता ललितपुर प्याट्रिटससँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । सो खेलमा अफ्रिदीले खेल्ने सम्भावना छ ।

त्यसपछि काठमाडौंको दोस्रो खेल बिराटनगर वारियर्ससँग सोमबार परेको छ । अफ्रिदीले त्यो म्याच खेलेर फर्किन सक्ने सम्भावना पनि छ । यद्यपि उनले थप कुन म्याच खेल्ने हुन यसबारे पुष्टी भइसकेको छैन ।

स्मरण रहोस, यस सिजन इपिएल खेल्ने अफ्रिदी सबैभदा हाई प्रोफाईल खेलाडी समेत हुन् । त्यसबाहेक बंगलादेशका तमिम इकबल, श्रीलंकाका उपुल थरंगा, दक्षिण अफ्रिकाका रिचार्ड लेवी र जिम्बाब्वेका सिकन्दर राजाले यस सिजन इपिएल खेल्दै छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...