नेपाली क्रिकेटलाई अझै उचाईंमा पुर्याउने सपनासहित पारसको सन्यास

काठमाडौं (खेलदैनिक) । खेलाडीका रुपमा नेपाली क्रिकेटमा झण्डै डेढ दशक बिताएका चर्चित अलराउण्डर तथा पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

पारसले मंगलबार बिहान आफ्नो आधिकारिक फेसबुक पेजमा एउटा स्टाटस पोष्ट गर्दै सन्यासको घोषणा गरेका हुन् । “सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले सन्यास लिने निर्णय लिएको छु ।” पारसले आफ्नो स्टाटसको शुरुवातमा लेखेका छन् ।

पारसले अगाडी लेखेका छन्, “नेपालका लागि खेल्नु मेरो जिवनको सर्वश्रेष्ठ उपलब्धी हो । २००२ मा १५ बर्ष हुँदा मैले शुरु गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरु, सार्थी खेलाडीहरु, प्रशंसकहरु, सरोकारवालाहरु, मिडियाकर्मी, मेरो परिवार र सार्थीहरुप्रति म सदैव ऋणी रहनेछु ।”

सन् २००९ देखि एक दशक नेपाली क्रिकेट टोलीको कप्तानको जिम्मेवारी समेत निभाएका पारसले देशका लागि खेल्दै थुप्रै किर्तिमान र उपलब्धी पनि आफ्नो नाममा लेखाए । अलराउण्डरको भूमिकामा मैदानमा उत्रिने पारसले सन् २०१८ को अगस्तमा नेदरल्याण्डविरुद्ध नेपालले पहिलो एकदिवसीय म्याच खेल्दा पारस पनि महत्वपूर्ण सदस्य थिए ।

सन् २०१२ को अक्टुबरमा एसीसी ट्रफी इलिटमा कुवेत विरुद्ध ७७ बलमा १०६ रन बनाउँदै पारस अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने छैटौं नेपाली क्रिकेटर समेत बनेका थिए ।

नेपालले पारस कै कप्तानीमा सन् २०१४ मा बंगलादेशमा सम्पन्न भएको आइसीसी टि–२० अन्तर्राष्ट्रिय क्रिकेट विश्वकप खेलेको थियो । त्यतिबेला नै नेपालले टि–२० क्रिकेटको मान्यता समेत पाएको थियो ।

पारसले आफ्नो सन्यास घोषणाको पत्रमा देशका लागि र नेपाली क्रिकेटका लागि मन, वचन र कर्मले कर्तव्यनिष्ठ भई काम गरेको बताउँदै सबैले इमान्दारीताका साथ काम गरे नेपाली क्रिकेट अवश्य पनि नयाँ उचाईंमा पुग्ने बताएका छन् । साथै उनले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो यात्रा टुंगिए तापनि नेपाली क्रिकेटका लागि आफ्नो सपना भने अझै बामे सरिरहेको बताएका छन् ।

पारसले अन्तिममा लेखेका छन्, “मैदान भित्रका यी दुई दशक, जीवन रहुन्जेल मिठो यादका रुपमा मसँग रहने छन् । हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाईंमा पुर्याउनेछौं भन्ने विश्वास लिएको छु । धन्यवाद ।”

हेर्नुहोस पारसको सन्यास घोषणापत्र ।


प्रतिक्रिया दिनुहोस

Loading...