केन्द्रकी रजितालाई स्वर्ण पदक

काठमाडौं (खेलदैनिक) । केन्द्रीय डोजोकी रजिता ढुंगेलले चौथो जुनियर खुला कराते तथा किक बक्सिङ प्रतियोगितामा शुक्रबार स्वर्ण जितेकी छन् ।

नेपाल सितोरियो कराते संघ, छाउनी शाखा डोजोद्वारा आयोजित प्रतियोगिताको महिला ६० केजीमाथि फाइनलमा रजिताले भक्तपुरकी ननिता श्रेष्ठलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् ।

महिला २० केजीमा एम्सकी सविरा नेपाली, २५ केजीमा वादोकाइकी प्रतिक्षा तामाङ, ३० केजीमा इचङकुकी सन्ध्या महत, ३५ केजीमा नरहरिपुरकी खुशी अधिकारी, ४० केजीमा भक्तपुरकी सरिता तामाङ, ५० केजीमा वादोकाइकी पुष्पका लामा, ५५ केजीमा केन्द्रकी सोनु श्रेष्ठ र एकल कातामा केन्द्रकी सर्मिला श्रेष्ठले स्वर्ण जिते ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुष २० केजीमा इचङकुका युनिक तामाङ, २५ केजीमा केन्द्रका श्रृदेश चन्द, ३० केजीमा केन्द्रका एओन गहतराज र एकल कातामा नरहरिपुरका स्वर्णिम मानन्धरले पहिलो स्थान हात पारे ।

प्रतियोगिताको हामा गु्रप र हामा स्टिल्सका अध्यक्ष बालाकृष्ण श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा करातेकर्मी राजेन्द्र कपाली, सूर्यबहादुर तामाङ, सञ्जय रन्जित र राजेन्द्रकुमार क्षेत्रीलाई सम्मान गरिएको थियो । दुईदिने प्रतियोगितामा २ सय ५० खेलाडीले विभिन्न २२ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको आयोजक छाउनीका अध्यक्ष महेश रन्जितले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...