एसियाडमा ताराद्वारा राष्ट्रिय कीर्तिमानमा सुधार

एसियाली खेलकुदअन्तर्गत भारोत्तोलनमा राष्ट्रिय कीर्तिमान बनाएकी तारादेवी पुन ।

काठमाडौं (खेलदैनिक) । इन्डोनेसियमा जारी १८ औं एसियाली खेलकुदअन्तर्गत भारोत्तोलनको महिला ७५ केजीमा नेपालकी तारादेवी पुनले आइतबार ३ नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

जेआई एक्सपो हल एमा १२ औं दक्षिण एसियाली खेलकुद (साग) की कांस्य विजेता ताराले आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्ने क्रममा स्न्याचमा ७४ केजी, क्लिन एन्ड जर्कमा १०१ केजी र कुलमा १७५ केजीको भार वहन गरिन् ।

यसअघि स्न्याचमा ताराको नाममा ७३ केजीको कीर्तिमान थियो । ताराले स्न्याचमा तेश्रो लिफ्टमा कीर्तिमान रचेकी हुन् । पहिलो लिफ्टमा ७० केजी उठाएकी तारा दोश्रो लिफ्टमा ७४ केजी भार वहन असफल रहिन् । तेश्रो लिफ्टमा मात्र तारा ७४ केजी वजन उचाल्न सफल भएकी थिइन् ।

क्लिन एन्ड जर्कमा ९७ केजी र कुलमा १७० केजीको कीर्तिमान पनि ताराकै नाममा थियो । तीनै कीर्तिमान ताराले नेपालगन्जमा गत जेठमा भएको एसियाली खेलकुदको छनोटमा राखेकी थिइन् । क्लिन एन्ड जर्कमा ताराले तीन लिफ्टमा क्रमशः ९३ केजी, ९८ केजी र १०१ केजी भार वहन गरेकी थिइन् । ताराले दोश्रो लिफ्टमै आफ्नो ९७ केजीको कीर्तिमानमा सुधार गरिसकेकी थिइन् ।

भारोत्तोलनमा नेपालको प्रतिस्पर्धा सकिएको छ । तारासहित ४ खेलाडीले भारोत्तोलनमा प्रतिस्पर्धा गरेका थिए । त्यसमा सन्जु चौधरी र कमलबहादुर अधिकारीले पनि राष्ट्रिय कीर्तिमान बनाए भने विकास थापा राष्ट्रिय कीर्तिमान बनाउन असफल रहे ।

टेबलटेनिस : टिममा पराजय

टेबलटेनिसको पुरुष÷महिला दुवैको टिम इभेन्टमा नेपाल पराजित भएको छ । जेआई एक्सपो हल बीमा पुरुषमा नेपाल चीनसंग ३–० को सोझो सेटमा पराजित भयो । महिलामा नेपाल मलेसिया र सिंगापुरसंग समान ३–० को सीधा सेटमा हार्यो ।

पुरुष टोलीमा नेपालबाट अमरलाल मल्ल, श्यान्टु श्रेष्ठ र दीप साउनले प्रतिस्पर्धा गरेका थिए । महिलामा नवीता श्रेष्ठ, स्वेच्छा नेम्वाङ र रविना महर्जनले खेलेका थिए ।

बक्सिङ : विष्णु र प्रेम पराजित

एसियाली खेलकुदअन्तर्गत बक्सिङको पुरुष ६९ केजीमा नेपालका विष्णुप्रसाद घले गुरुङ (रातो) र कतारका खेलाडी प्रतिस्पर्धा गर्दै ।

बक्सिङको पुरुष ६९ केजीमा नेपालका विष्णुप्रसाद घले गुरुङ पराजित भएका छन् । विष्णुलाई कतारका थुलासिमारान थारुमालिङगमले ५–० ले पराजित गरे । पुरुष ५२ केजीमा नेपालका प्रेम चौधरीलाई फिलिपिन्सका रोगन लादोनले ५–० ले स्तब्ध पारे ।

कराते  : पहिलो चरणमै हार

रातेमा आइतबार तीन खेलाडीले प्रतिस्पर्धा गरेका थिए । तीनै खेलाडी पहिलो चरणमै पराजित भए । जेसीसी प्लेनरी हलमा भएको पुरुष ६० केजीमा नेपालका सोनाम लामा भियतनामका हाइभान नुयेनसंग ३–० तथा ६७ केजीमा नेपालका विजय लामा जापानका सिनोहारा हिरोतोसंग १–० ले पराजित भए । महिला ६१ केजीमा थाइल्यान्डकी आर्म सुक्कीआउले नेपालकी सुनीता महर्जनलाई ४–१ ले निराश पारिन् ।

सोमबार नेपालका २ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषमा दिवस श्रेष्ठ र महिलामा अनु अधिकारीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पहिलो दिन शनिबार तीन नेपाली खेलाडी पराजित भइसकेका छन् ।

सेपाकताक्रो

एसियाली खेलकुदमा पहिलो पटक सहभागिता जनाएको सेपाकताक्रोको पुरुष रेगु स्पर्धामा नेपाल चीनसंग २–० ले पराजित भएको छ । जेएससी रनाउ हलमा चीन २१–४ र २१–९ ले विजयी भयो । यसअघि नेपाल मलेसिया र दक्षिण कोरियासंग समान २–० को नतिजामा पराजित भएको थियो । नेपालले सोमबार भारत विरुद्ध खेल्नेछ ।

प्लाराग्लाइडिङ

प्याराग्लाइडिङको टिम क्रस कन्ट्री इभेन्टको दोस्रो चरण सकिँदा नेपाली पुरुष टिम तेस्रो स्थानमा रहेको छ । नेपाली टिमले दोस्रो चरणसम्म २९ सय ४९ अंक जोडेको छ । नेपाली टिमबाट विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापाले खेलिरहेका छन् । ३८ सय १८ अंक जोडेर इन्डोनेसिया शीर्ष स्थानमा छ ।

दोस्रो स्थानमा रहेको दक्षिण कोरियाको ३१ सय ३९ अंक छ । २७ सय ७५ अंक जोडेर चौथो स्थानमा रहेको जापानले नेपाललाई पछ्याइरहेको छ ।

महिलातर्फ दोस्रो चरणको खेल सकिँदा नेपाली टिम पाँचौ स्थानमा झरेको छ । अघिल्लो दिन नेपाली महिला टिम चौथो स्थानमा थियो । नेपाली महिला टिमले अहिलेसम्म ६ सय ३८ अंक जोडेको छ । नेपाली टिममा प्रतिभा भुजेल, त्रिसा श्रेष्ठ बम्जन तामाङ र सविता तामाङ छन् ।

यो इभेन्टमा दक्षिण कोरिया पहिलो, जापान दोस्रो, इन्डोनेसिया तेस्रो र थाइल्यान्ड चौथोमा छन् । प्याराग्लाइडिङको क्रस कन्ट्री इभेन्ट पाँच राउन्डसम्म चल्नेछ । बुधबार यो इभेन्टको पदकको टुंगो लाग्नेछ ।

गल्फ

गल्फको व्यक्तिगत स्पर्धामा नेपालका शुक्रबहादुर राई ५७ औं, टंकबहादुर कार्की ६० औं, पृथ्वी मल्ल संयुक्त रुपमा ७४ औं र अजित विक संयुक्त रुपमा ७८ औं स्थानमा रहे । यो स्पर्धामा ७८ खेलाडीले भाग लिएका थिए । जापानले स्वर्ण, दक्षिण कोरियाले रजत र चीनले कास्य पदक जिते ।

गल्फको टिम स्पर्धामा नेपाल १७ औं भएको छ । यो स्पर्धामा २० टिम सहभागी थिए । टिम स्पर्धाको स्वर्ण पनि जापानले जितेको छ । चीन दोस्रो तथा दक्षिण कोरिया तेस्रो भए ।


प्रतिक्रिया दिनुहोस

Loading...