एपीएफ र न्यु डायमण्ड फाइनलमा

काठमाडौं ।  केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा चिरप्रतिद्वन्द्वी सशस्त्र प्रहरी बलको एपीएफ क्लब र न्यु डायमण्ड  एकेडेमीवीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार भएको सेमिफाइनल खेलमा विजय हासिल गर्दै एपीएफ र न्यु डायमण्ड ले उपाधि भिडन्त पक्का गरेका हुन् । बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा एपीएफले अर्को विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । खेलको सुरुदेखि नै दबाब बढाएको एपीएफले २५–११, २५–२० र २५–१६ को सेटमा स्तब्ध बनायो ।

एपीएफकी सरस्वती चौधरीले ४४ स्पाइकबाट २१ र सर्भिसबाट चार अंक बटुलिन । यस्तै नेविका चौधरीले ३५ स्पाइकबाट १५ अंक जोडिन भने उषा विष्टले स्पाइकबाट चार र ब्लकबाट दुई अंक बटुलिन । पुलिसकी कोपिला उप्रेतीले स्पाइकबाट ११ र सर्भिसबाट एक अंक जोडिन् । यस्तै मनिषा चौधरीले स्पाइकबाट सात र सर्भिसबाट एक अंक जोडिन् ।

यसैगरी दोस्रो सेमिफाइनल खेलमा न्यु डायमण्ड  एकेडेमीले पश्चिमाञ्चल भलिबल संघलाई ३–० कै सोझो सेटमा पाखा लगायो । पहिलो सेटमा कडा टक्कर दिएको पश्चिमाञ्चलले दोस्रो र तेस्रो सेटमा खराव प्रदर्शन गर्दा नतिजा न्यु डायमण्ड लाई सुम्पन बाध्य भयो । पहिलो सेटमा २५–२२ को कडा टक्कर पाएको न्यु डायमण्ड ले त्यसपछि २५–९ र २५–१४ को सहज जित निकाल्यो ।

न्यु डायमण्ड लाई जित दिलाउन प्रतिभा मालीको योगदान महत्वपूर्ण रह्यो । उनले ६६ स्पाईक प्रहार गर्दा ३८ अंक जोडिन । यस्तै सेटर कृपा अधिकारीले सर्भिसबाट सात अंक जोडिन् । पश्चिमाञ्चलकी कप्तान मञ्जु गुरुङ र अरुणा शाहीले उत्कृष्ट प्रदर्शन गरेपनि टोलीलाई जित दिलाउन सकेनन् । मञ्जुले ३४ सटबाट सात र सर्भिसबाट दुई अंक जोडिन् । शाहीले ४४ सट प्रहार गर्दै सात अंक जोड्दा सर्भिसबाट एक अंक बटुलिन । प्रतियोगितालाई गौरी शंकर हिमालयन कार्पेटका कार्यकारी निर्देशक दावा तामाङले तेश्रो पुरस्कार नगद ५० हजार प्रायोजन गरेका छन् ।

त्यसैगरी  तुलसी भक्त कन्ट्रक्सनका प्रबन्ध निर्देशक नवराज श्रेष्ठबाट २५ हजार सहयोग प्राप्त भएको छ भने प्यारागन ट्राभल्स एण्ड टुर्सका कार्यकारी निर्देशक प्रकाश सिंह कार्कीबाट शेरवहादुर खड्का स्पेशल अवार्डबाट सम्मानीत हुने खेलाडिलाई माउण्टेन फ्लाईटको टिकट प्रदान गर्नेछन् ।

साबिक विजेता एपीएफसमूह ‘ए’ र समूह ‘बी’बाट न्यु डायमण्ड  एकेडेमी अपराजित रहँदै सेमिफाइनलमा पुगेका थिए । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको फाइनल शुक्रबार हुनेछ । प्रतियोगिताको विजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले एक लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले पनि १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यसैगरी विधागत उत्कृष्टतर्फ उत्कृष्ट स्पाइकर, उत्कृष्ट क्विकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकले जनही तीन हजार रुपैयाँसहित आकर्षक ट्रफी पुरस्कार प्राप्त गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...