तीन खेलाडीलाई प्रतिष्ठानको छात्रवृत्ति

काठमाडौं । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको पूर्वसन्ध्यामा तीन जना महिला राष्ट्रिय खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

सोमबार क्राउन प्लाजा होटलमा आयोजित टेक्निकल मिटिङका अवसरमा प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्का, आइएमई रेमिटका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र नेपाल भलिबल संघका उपाध्यक्ष यामबहादुर गुरुङले खेलाडीहरुलाई छात्रवृत्ति रकम हस्तान्तरण गरे ।

प्रतिष्ठानले राष्ट्रिय भलिबल खेलाडी प्रतिभा माली र अरुणा शाहीलाई गत आर्थिक वर्षदेखि दुई वर्षका लागि महिनाको दुई हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गर्दै आएको छ । यस्तै यस आर्थिक वर्षदेखि कृपा अधिकारीलाई पनि आगामी दुई वर्षका लागि प्रतिष्ठानले छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।

सोमबार सम्पन्न टेक्निकल मिटिङमा नेपाल भलिबल संघका सचिव जगदिश भट्टको संयोजकत्वमा तीन जुरी कमिटी गठन गरिएको छ । कमिटीको सदस्यमा संघकी कोषाध्यक्ष सुनकेसरी माली र अन्तर्राष्ट्रिय रेफ्री क्यान्डिडेट चन्द्रबदना राई रहेका छन् । यस्तै विधागत उत्कृष्ट खेलाडी चयनका लागि भीआईएसमा अर्जुन घिमिरे र प्रज्वलबहादुर सिंहलाई चयन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...