पुलिसको आर्मीमाथी रोमाञ्चक जीत

नेपाल पुलिसले ‘तेस्रो आरबीबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल’प्रतियोगितामा आर्मीमाथि रोमाञ्चक जीत निकालेको छ ।

पुरुषतर्फकोे खेलमा चीर प्रतिद्धन्दी नेपाल पुलिस क्लबले नेपाल आर्मीलाई ३–२ को सेटमा स्तब्ध बनेपछि महत्वपुर्ण दुई अंक जोडेको छ । पुलिसले आर्मीलाई २५–१८,१८–२५,२३–२५,२५–२३ र १५–१२ को सेटमा पाखा लगायो । पुलिसले
अपराजित रहदै दुई खेलबाट ४ अंक बनाएको छ । पुलिसले एपीएफ र आर्मीसँग ३–२ को सेटमा जीत निकाले पछि दुवै खेलमा दुई-दुई अंकमात्र जोड्न सफल भयो ।

पुलिससँग हार बेहोरेको आर्मीले ३ खेलबाट ७ अंक बटुल्दै लिगको शीर्ष स्थान ओगटेको छ । पुरुषकै अर्को खेलमा अपराजित रहेको हेल्प नेपालले बुटवलको मनिमुकुन्दलाई २५–२२,२५–२० र २५–१७ को साझो सेटमा हराउदै
दुई खेलबाट ६ अंक बनाएको छ । विभागिय टिम शसस्त्र प्रहरी बलको एपीएफले जाउलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई २५–१७,२५–१६ र २५–१८ को सोझो सेटमा हरायो ।

दुई खेल खेलको एपीएफले ४ अंक जोडेको छ । पुरुषतर्फनै जाउलाखेलले बुधबार भएको दोस्रो खेलमा ढोरपाटन क्लबलाई ३–१ ले हराउदै तीन अंक बटुलेको छ । जाउलाखेलले ढोरपाटनमाथि २१–२५,२५–१६,२७–२५ र २५–१८को जीत निकाल्यो ।

नेपालको प्रतिष्ठीत राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजन तथा नेपाल भलिबल संघको आयोजनामा संचालन भएको प्रतियोगिताको महिलातर्फ न्युडायमण्ड एकेडेमीले बिजयी शुरुवात गरेको छ ।

बुधबार दशरथ रंगशालास्थित कभर्डहलमा भएको महिलातर्फको आफ्नो पहिलो खेलमा न्युडायमण्डले पश्चिमाञ्चल टप्सलाई ३–० को सोझो सेटमा हराउदै ३ अंक बटुल्यो । न्युडायमण्डले पश्चिमाञ्चलमाथि २५–२३,२५–१६ र २५–१५ को जीत निकाल्यो । महिलातर्फ एपीएफ,पुलिस र आर्मीले पनि समान ३ अंक बनाएका छन् । दोस्रो खेलमा ३ अंक जोडेको नेपाल आर्मीले जाउलाखेल प्रशिक्षण केन्द्रलाई २५–१३,२५–१३ र २५–१० को सोझो सेटमा हरायो ।

लिगमा पुरुषतर्फ आठ र महिलातर्फ ६ टिमको सहभागिता रहेको छ । आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने लिगमा पुरुषतर्फ हेल्प नेपाल स्पोटर्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, पश्चिमाञ्चल भलिबल संघ, ढोरपाटन स्पोटर्स क्लव, जावलाखेल भलिबल तालिम केन्द्र र बुटबलको मणिमुकुन्द भलिबल क्लवले प्रतिस्पर्धा गर्नेछन् ।

महिलातर्फ न्यु डायमन्ड क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, वेस्टर्न टप्स र जावलाखेल स्पोर्टस क्लबको सहभागिता रहेको छ । कुल २१ लाख रुपैयाँ बजेट रहेको लिगको विजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त
गर्नेछन् । उपविजेताले एक लाख, तेस्रो हुनेले ५० हजार र चौथो स्थान हासिल गर्ने टोलीले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । लिगको सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउने छ । विधागत उत्कृष्टतातर्फ उत्कृष्ट लिब्रो, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर र उत्कृष्ट प्रशिक्षकले जनही पाँच हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...