प्रतिष्ठानद्वारा भलिबल संघलाई सहयोग

काठमाडौं । मंगलबारदेखि सुरु हुन लागेको ‘तेस्रो अरबीबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल’ प्रतियोगिता अन्तर्गत महिलातर्फको प्रथम पुरस्कारको प्रायोजन शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले गरेको छ।
आइतबार आयोजित कार्यक्रममा प्रतिष्ठानकी संरक्षक गमली खड्काले प्रथम पुरस्कारवापतको दुई लाख रुपैयाँको चेक नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दलाई हस्तान्तण गरिन् ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै प्रतिष्ठानका अध्यक्ष एवं पूर्व राष्ट्रिय भलिबल खेलाडी रञ्जन खड्काले पछिल्लो समय लोकप्रिय बनेको भलिबललाई उचाईमा पु¥याउन र खेलाडीको प्रोत्साहनका लागि प्रथम पुरस्कारको प्रायोजन गरेको बताए ।

नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्माले खड्का परिवारले थालेको अभियानको प्रशंसा गरे । यस्तै संघका महासचिव जितेन्द्रबहादुर चन्दले प्रतिष्ठानले भलिबललाई गरेको सहयोग अतुलनीय रहेको बताए ।

वि.सं २०७० साल असोज ६ गते स्थापना भएको प्रतिष्ठानले सामाजिक क्रियाकलापका साथै खेलकुदका विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । प्रतिष्ठानले हरेक बर्ष शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्नुका साथै खेलाडी प्रोत्साहनका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने लिगमा पुरुषतर्फ हेल्प नेपाल स्पोटर्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, पश्चिमाञ्चल भलिबल संघ, ढोरपाटन स्पोटर्स क्लव, जाउलाखेल भलिबल तालिम केन्द्र र बुटबलको मणिमुकुन्द भलिबल क्लवले प्रतिस्पर्धा गर्नेछन् । यसैगरी महिलातर्फ न्यु डायमन्ड क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, वेस्टर्न टप्स र जाउलाखेल स्पोर्टस क्लबले सहभागिता जनाउने छन् । लिगको विजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले एक लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...