खेलाडीहरु सम्मानित

काठमाडौं (खेलदैनिक) । नेपाल खेलकुद महासंघ (नेकोस) ले विभिन्न खेलका खेलाडीलाई शनिबार सम्मान गरेको छ । ब्याडमिन्टन, पारा तेक्वान्दो र महिला भलिबल खेलाडीलाई उनीहरुले हासिल गरेको उपलब्धिका लागि नेकोसले नगदसहित सम्मान गरेको हो ।

जुनियर विश्व वरीयताको शीर्ष स्थानमा पुग्न सफल ब्याडमिन्टनका प्रिन्स दाहाललाई प्रशंसा पत्र र १० हजार नगदसहित सम्मान गरियो । सोही अवसरमा खेल प्रेमीद्वारा संकिलत २० हजार नगद पनि प्रिन्सलाई प्रोत्साहन स्वरुप प्रदान गरिएको थियो ।

बहराइनको मानामा भएको चौथो युथ एसियन पारा गेम्समा पदक जित्न सफल ३ पारा तेक्वान्दो खेलाडीसहित ५ सदस्यीय टोली पनि सम्मानित भए । स्वर्ण विजेता पलेशा गोबद्र्धनलाई १५ हजार, रजत विजेता सिर्जना घिसिङलाई १० हजार र कांस्य विजेता विशाल गर्बुजालाई ५ हजार नगदसहित सम्मान गरियो । प्रशिक्षक कविराज नेगी लामा र टिम व्यवस्थापक नन्दा बस्याललाई पनि नगदसहित सम्मान गरिएको थियो ।

त्यस्तै बंगालादेशमा भएको एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबलको उपाधि विजेता नेपाली महिला टोलीलाई सम्मान गरियो । १२ खेलाडीसहित १५ सदस्यीय टोलीलाई १ लाख रुपयाँसहित प्रशंसा पत्र प्रदान गरिएको थियो ।

पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकोसका अध्यक्ष पर्शराम बस्नेत (कृष्ण) लगायतले उनीहरुलाई सम्मान गरेका थिए । सोही कार्यक्रममा तेक्वान्दोको प्रदर्शनी खेल प्रस्तुत गर्ने नेपाल टाइगरका टोलीलाई प्रोत्साहन स्वरुप राष्ट्रिय खेलकुद परिषद् एवं कार्यकारी बोर्ड सदस्य एकेन्द्र कुँवरले नगद २० हजार प्रदान गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...