प्रधानमन्त्रीद्धारा महिला भलिबल टोली सम्मानित

काठमाडौं (खेलदैनिक) । प्रधानमन्त्री शेरवहादुर देउवाले शुक्रबार राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान तथा नगद पुरस्कार प्रदान गरेका छन् ।

बंगलदेशको ढाकामा २०८७ पौष ६ देखि १६ गते सम्म संचालन भएको बंगबन्धु एशियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको विजेता महिला भलिबल टोलीका खेलाडीहरुलाई प्रधानमन्त्री देउवाले जनही ५ लाख प्रदान गरेका थिए ।

स्वर्ण पदक विजेता सम्मानित खेलाडीमा कप्तान अरुणा शाही, मनिषा कुमारी चौधरी, कामना बिष्ट, लक्ष्मी चन्द, उषा भण्डारी, प्रतिभा माली, सलिना श्रेष्ठ, सरस्वती चौधरी, सुनिता खड्का, सफिया पुन, कृपा अधिकारी र शान्ति कुमारी थारु छन् । स्टार खेलाडी सरस्वती भने घुडाको शल्याक्रिया भएको कारण उपस्थिति हुन सकिनन् । उनको सम्मानपत्र पुरुष भलिबलका पूर्व कप्तान भरत शाहाले लिएका थिए ।

त्यस्तै मुख्य प्रशिक्षक जगदिश प्रसाद भट्ट र प्रशिक्षक भरत यादबले समान ३ लाख प्राप्त गरेका छन् भने टिम मेनेजर ज्योती केसीले २ लाख प्राप्त गरेकी थिईन् । सोहि अवसरमा विश्व व्याडमिन्टन महासंघको पुरुष जुनियर एकलतर्फ विश्व वरियताको शिर्ष स्थानमा पुग्न सफल खेलाडी प्रिन्स दाहाल र फुटबलका विदेशी प्रशिक्षक प्रशिक्षक अब्दुलाह अल्मोतारीलाई पनि सम्मान गरिएको थियो । अल्मोतारीले भने फुटबल टिम सम्मानीत हुदा विदेशमा भएका करण उपस्थिति नभए पश्चात शुक्रबार सम्मान गरिएको हो ।

खेलाडी तथा प्रशिक्षक सम्मान पश्चात प्रधान मन्त्री देउवाले खेलकुद देशको नाम र प्रतिष्ठालाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने र फिजाउने यौटा महत्त्वपूर्ण र प्रभावकारी माध्यम भएको बताए ।

प्रधान मन्त्री देउवाले नेपाल भलिबल संघलाई पनि सम्मान गरेका छन् । सोही अवसरमा नेपाल भलिबल संघको तर्फबाट अध्यक्ष मनोरन्जन रमण शर्माले प्रधान मन्त्री देउवा, युवा तथा खेलकुद मन्त्री महेश्वरजङ् गहतराज(अथक) र सचिव डा. दामोदर रेग्मीलाई मायाको चिनो प्रदान गरेका थिए ।

समापनका अवसरमा युवा तथा खेलकुद मन्त्री महेश्वरजङ् गहतराज(अथक)ले भलिबल नेपालको राष्ट्रिय खेल भए पनि कभर्डहल नभएकाले त्रिपुरेश्वर हाता भित्रै अन्तर्राष्ट्रिय स्तरको कभर्डहल निर्माणका लागि पहल कदमी गरिने बताए ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले स्वागत मन्तब्य राखेका थिए । सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोईराला,नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के,महासचिव जितन्द्र वहादुर चन्द,कोषध्यक्ष सुनकेशरी मालीलगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...