नयाँ बजार कप खुला पुरुष भलिबल शुरु

नेपाल आर्मीले चौथो नयाँ बजार कप राष्ट्रिय पुरुष खुला भलिबल प्रतियोगितामा दोहोरो सफलता हात पारेको छ ।

नयाँ बजारस्थित सोसियल टाउन प्लानिङको कोर्टमा भएको खेलमा आयोजक नयाँ बजार सामाजिक युवा क्लव र गिताञ्जली कलेजलाई सोझो सेटमा हराउँदै आर्मीले दोहोरो सफलता हात पारेको हो ।

बुधबार भएको उद्घाटन खेलमा आर्मीले नयाँ बजारलाई २५–२०, २५–१६ र २५–१९ को सेटमा हरायो । दोस्रो खेलमा पनि आर्मीले गिताञ्जलि कलेजमाथि २५–१२, २५–१४ र २५–१३ को नतिजा निकाल्यो ।

प्रतियोगिताको साविक विजेता नेपाल पुलिसले पनि बिजयी शुरुवात गरेको छ । उसले ढोरपाटन स्पोर्ट्स क्लवलाई ३–० कै सोझो सेटमा हरायो । पुलिसले ढोरपाटनमाथि २५–९, २५–१८ र २५–१७ को सहज जित निकाल्यो ।

प्रतियोगिताको उद्घाटन परराष्ट्र मन्त्री प्रकाशशरण महतले गरेका थिए । उनले अन्तर्राष्ट्रिय रेफ्री क्यान्डिडेट कुलबहादुर रानालाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए ।

प्रतियोगितामा तीन विभागीय टोलीसहित आठ टिमको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेलाइएको छ । समूह एमा गत बर्षको विजेता नेपाल पुलिस क्लव, ढोरपाटन स्पोर्टस् ट्रेनिङ सेन्टर, त्रिभुवन विश्वविद्यालय र सशस्त्रको एपीएफ क्लव रहेका छन् । यसैगरी समूह बीमा दिप्सन फुड्स जापान आँधीखोला, गीताञ्जलि कलेज, आयोजक नयाँ बजार सोसल युथ र नेपाल आर्मी क्लव रहेका छन् ।

प्रतियोगिताको विजेताले एक लाख ७५ हजार एक सय ११ रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै उपविजेताले ९० हजार एक सय ११ र तेस्रो स्थान हासिल गर्ने टोलीले ५१ हजार एक सय ११ र चौथो हुने टोलीले २५ हजार एक सय ११ रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले आकर्षक ट्रफी प्राप्त गर्नेछन् भने विधागततर्फ वेस्ट स्पाइकर, सर्भर, ब्लकर, डिफेन्स, सेटर, क्वीकर र वेस्ट कोचलाई पनि आकर्षक ट्रफीबाट पुरस्कृत गरिने भएको छ ।

उद्घाटन समारोहमा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा,महासचिव जितेन्द्रबहादुर चन्द,आयोजक क्लबका अध्यक्ष भगवान थापा,महासचिव टिकाराज पाण्डे,प्रतियोगिता संयोजक पदम श्रेष्ठलगायतले मन्तब्य ब्यक्त गरेका थिए । चैत २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको कुल लागत १६ लाख २५ हजार रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...