पुलिसलाई सर्वाधिक धनराशिको भलिबल उपाधि

काठमाडौं (खेलदैनिक) । घरेलु पुरुष भलिबलमा सर्वाधिक धनराशिको प्रथम प्रकाश दाहाल स्मृति युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिताको नेपाल पुलिस क्लबले जितेको छ ।

नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् क्लबको खेल मैदानमा शनिबार भएको फाइनलमा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो ।

राष्ट्रिय खेलाडीले भरिएको दुई टोलीबीचको फाइनल खेल रोचक र प्रतिस्पर्धात्मब हुन अनुमान गरिएपनि पुलिसले एकपक्षीय नतिजा निकाल्न सफल भयो । सबै तीन सेटमा पुलिस २५–२२, २५–२२ र २५–२२ ले नै विजयी हुन सफल भएको थियो ।

सबै सेटमा आर्मीले सुरुवाती अग्रता लिएरपनि त्यसलाई जोगाउन नसक्दा पराजित हुन पुग्यो । चोटका कारण मुख्य स्पाइकर मानबहादुर श्रेष्ठ विना फाइनल खेलेको आर्मी पुलिससामु कमजोर नै देखिएको थियो । मानबहादुर गत सोमबार भएको फाइनल दौरान नै बाया खुट्टामा चोटका कारण बाहिरिएका थिए ।

उपाधिसँगै पुलिसले ५ लाख रुपैया हात पार्यो । दोस्रो भएको आर्मीले ३ लाख रुपैयामा चिक्त बुझायो । तेस्रो भएको गण्डकी प्रदेशले १ लाख तथा चौथो भएको नेपाल एपीएफ क्लबले ५० हजार रुपैया हात पार्यो ।

व्यक्तिगत विधामा चयामिपयन पुलिसले वर्चस्व जमाउदा आर्मीका धनबहादुर भट्ट क्षेत्री प्रतियोगताको सर्वाेत्कृष्ट खेलाडी चुनिए । उनले एक थान टीभीएस मोटरसाइकल हात पारे ।

पुलिसका कुल बहादुर थापा बेस्ट स्पाइकर, कप्तान इम बहादुर राना सेटर, द्धारिका थापा सर्भर, भीम गाहामगर लिवेरो र सरोज श्रेष्ठ उत्कृष्ट प्रशिक्षक चुनिए । गण्डकी प्रदेशका याम क्षेत्री उत्कृष्ट ब्लकर चुनिए । व्यक्तिगत विधाका उत्कृष्टहरुले जनही १०–१० हजार रुपैया पाए ।

विजयी टोली तथा खेलाडीलाई गोरखा क्षेत्र नम्वर २ का सांसद चुणामडि खड्का, आयोजक प्रगतिशिल युवा नेपाल गोरखा काठमाडौंका अध्यक्ष दीपक थापा, महासचिव सुनिल थापामगर र प्रायोजकका विभिन्न प्रतिनिधिहले पुरस्कृत गरे ।

प्रगतिशिल युवा नेपाल गोरखा काठमाडौंले आयोजनामा गत भदौं २४ बाट शुरु भएको प्रतियोगितामा विभिन्न ८ टोलीले लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए । साउन २८ मै फाइनल हुने भएपनि वर्षाका कारण प्रतियोगिता लम्बिन पुगेको थियो ।

सोमबारलाई तय फाइनल खेलको तेस्रो सेट चलिरहँदा वर्षा भएपछि मंगलबारलाई सारिएको थियो । मंगलबार खेल नै शुरु हुन नसकेपछि आयोजकले रेफ्री कमिटि र फाइनलका दुई टोलीबीचको प्रतिनिधिसँगको सल्लाहमा शनिबारको लागि फाइनल तय गरेको थियो ।

त्यसअघि दुई दिन बुधबार र बिहीबार १३औं सागका लागि राष्ट्रिय टोलीको छनोट कार्यक्रम रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...