प्रधानमन्त्री कप चौथो इण्डो–नेपाल महिला भलिबलको उपाधि रेल्वेलाई

नेपालगन्ज, फागुन १८ / प्रधानमन्त्री कप चौथो इण्डो–नेपाल महिला भलिबल प्रतियोगिताको उपाधि रेल्वेले जितेको छ । साबिक बिजेता रेल्वेले साबिक उपबिजेता एपीएफ क्लबलाई ३–० को सेटमा हराउदै उपाधि रक्षा गरेको हो ।

बुधवार भएको फाइनल खेलको अत्यन्त प्रतिस्पर्धात्मक पहिलो सेटमा रेल्वेले एपीएपलाई २७–२५ ले हरायो । पहिलो सेट जितेर उच्च मनोबलका साथ कोर्टमा प्रवेश गरेको रेल्वेले दोश्रो सेट २५–१७ ले जित्दा तेश्रो सेट २५–२२ ले आफ्नो पक्षमा पार्यो । नेपालगंज कर्भडहलमा तेश्रो स्थानको लागि भएको खेलमा पुलिसले आर्मीमाथी ३–१ को जित निकाल्यो । पुलिसले पहिलो तेश्रो र चौथो सेट क्रमशः २५–१८,२५–१५ र २५–२३ ले आफ्नो नाममा लेखाउदा दोश्रो सेट आर्मीले २५–२० ले जित्न सफल भयो ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी रेल्वेकी अनुश्री घोषले सर्वोउत्कृष्ट खेलाडीको उपाधि जितिन् । उनले नगद १० हजार प्राप्त गरिन् । त्यस्तै बिधागततर्फ उत्कृष्ट स्पाईकरमा एपीएफकी सरस्वती चौधरी,उत्कृष्ट ब्लकरमा एपीएफकी उषा बिष्ट, उत्कृष्ट सर्भरमा एपीएफकै नेबिका चौधरी चुनिए भने उत्कृष्ट सेटरमा रेल्वेकी रिचु म्यारी र उत्कृष्ट डिफेन्सको उपाधि रेल्वेकै पिरोस्मिता बापरीले जितिन् । उनिहरुले जनहि नगद २ हजार प्राप्त गरे ।

बिजेता टिम तथा खेलाडिलाई राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष सुरेन्द्र हमाल,सदस्यद्धय बिनोद मैनाली,शान्ति सिंह,नेपाल भलिबल संघका बरिष्ट उपाध्यक्ष यमवहादुर गुरुङ,नेपाल भारोत्तोलन संघका अध्यक्ष रतन टण्डन,मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समितिका अध्यक्ष भिम ओली,आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीलगायतले पुरस्कृत गरेका थिए ।

लिगकम नकआउटको आधारमा संचालन भएको प्रतियोगिताको विजेताले १ लाख ११ हजार, दोस्रोले ५५ हजार रुपैंया, तेस्रोले ३५ हजार रुपैपा प्राप्त गरे । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले समन्वय गरेको यस प्रतियोगितामा नेपालगन्ज उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ, जिल्ला खेलकुद विकास समिति लगायत संघसंस्थाले साझेदारी गर्दै आएका छन् भने नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्टिय खेलकुद परिषदको बिशेष सहयोग रहेकोे छ । युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले १४ गते उद्घाटन गरेको प्रतियोगितामा ६ टिमको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...