राष्ट्रिय पुरुष भलिबल : आर्मीलाई हराउँदै पुलिस च्याम्पियन

ताप्लेजुङ (खेलदैनिक) । त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले तेस्रोे पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । मैवाखोला गाउँपालिका स्थित साँघुमा बिहीबार भएको फाइनल खेलमा आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले लगातार दोश्रो पटक उपाधि जितेको हो ।

नारायणी माविको खेल मैदानमा भएको उपाधि भिडन्तमा पुलिसले आर्मीमाथी २५–१७, २५–१३ र २५–१९ को सहज जित निकाल्यो । उपाधिसंगै पुलिसले नगद ३ लाख ५१ हजार ५ सय प्राप्त गरेको छ । उपविजेता आर्मीले १ लाख ७६ हजार २ सय ५१ रुपैयामा चित्त बुझायो । प्रतियोगिताको सेमिफाइनल पुगेका दुई टोली एपीएफ र गण्डकी प्रदेशले समान ५०–५० हजार प्राप्त गरेका थिए ।

पुलिसका ओपन स्पाइकर कुलबहादुर थापा (हरी) ले उत्कृष्ट खेलाडीको उपाधि जिते । त्यसवापत कुलवहादुरले १५ हजार प्राप्त गरेका छन् । प्रतियोगिताको बिद्यागततर्फको उपाधिमा पुलिसकै खेलाडीको वर्चश्व रह्यो ।

उत्कृष्ट सर्भरमा पुलिसका विशाल बिक, सेटरमा कप्तान ईम बहादुर राना, डिफेन्डरमा भिम गाहा, ब्लकरमा दिपक राजजोशी र उत्कृष्ट प्रशिक्षक पुलिसकै सरोज श्रेष्ठ चुनिए । उपबिजेताको टिमको तर्फबाट उत्कृष्ट स्पाइकरको उपाधि धनबहादुर भट्टले जितेका थिए । उत्कृष्टको उपाधि बिजेताहरुले जनहि नगद ७–७ हजार प्राप्त गरेका थिए ।

विजेता खेलाडीलाई प्रमुख अतिथि तथा प्रदेश सदस्य टंक आङबुहाङ, प्रदेश सदस्य बल बहादुर साम्सोहाङ र प्रदेश सदस्य होम कुमारी साँवालगायतले पुरस्कृत गरे । मैवाखोला गाउँपालिकाको व्यवस्थापन तथा जलजले युवाक्लब, न्यु पाथिभरा क्लब र मैवाखोला क्लबको आयोजनामा भएको प्रतियोगिता संचालन भएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...