पाँचौ ढोरपाटन पुरुष खुला भलिबललाई यति ब्रुअरीको साथ

काठमाडौं (खेलदैनिक) । चर्चित पाँचौ ढोरपाटन पुरुष खुल्ला भलिबल प्रतियोगितालाई एक कार्यक्रमका बीच यति ब्रुअरीले प्रायोजन गरेको छ । सोमवार कार्यक्रमका प्रमुख अतिथि नेपाल भलिबल संघका महासचिव जितेन्द्रवहादुर चन्दको उपस्थितिमा यति ब्रुअरी प्रालीका मार्केटिङ अफिसर बिभोर रायमाझी र ढोरपाटन क्लबमा अध्यक्ष मनबिन छन्त्यालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पश्चात प्रतियोगिता पाँचौ ढोरपाटन एम १५० पुरुष भलिबलको नामबाट संचालन हुनेछ । प्रतियोगितालाई मुख्य प्रायोजन गरेको यति ब्रुअरीले आफ्नो कम्पनीबाट उत्पादन गरिएको इनर्जी ड्रिंक एम १५० को नामबाट संचालन हुनेछ । सो बापत मुख्य प्रायोजक यति ब्रुअरीले ५ लाख आयोजकलाई उपलब्ध गराउने छ ।

नेपाल भलिबल संघको संयोजन तथा ढोरपाटन क्लबको आयोजनामा संचालन हुने प्रतियोगिता भदौ ३० देखि असोज ६ गते सम्म चल्ने छ । नयाँ बसपार्क स्थित ढोरपाटन स्पोर्टस् क्लबमा हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहने छ ।

प्रतियोगिताको उपाधि विजेताले १ लाख उप विजेताले ६० हजार र तेस्रो हुने टिमलाई ५० हजार प्रदान गरिने ढोरपाटन क्लबमा अध्यक्ष मनबिन छन्त्यालले जानकारी दिए । ब्यक्तिगत विधा अन्तर्गत स्पाईकर, ब्लकर क्वीक डिफेन्डर, सर्भर लिफ्टर र प्रशिक्षकलाई ५ हजार प्रदान गरिने छ । प्रतियोगितामा एक जना दर्शकलाई स्कूटर, ८ जना दर्शकले इजी टीसर्ट र अरु ८ जना दर्शकले डाइमण्ड मोबाइल पाउने छन् ।

प्रतियोगिताको सह प्रायोजकमा आईएमई प्रालि र बीजी मल रहेका छन् भने दोस्रो उपाधि बापतको रकम ५० हजार पुरस्कारलाई शान्ति दोहोरी साँझका दीपक कुँवरले प्रायोजन गरेका छन् । प्रतियोगिताको अनुमानित लागत १२ लाख रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...