विश्वविद्यालय खेलकुद सुरु

तेश्रो प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुदको उद्घाटन गर्ने क्रममा टेबलटेनिसका प्रमुख प्रशिक्षक धर्ममान वज्राचार्यलाई खेल सामाग्री हस्तान्तरण गर्दै सदस्य–सचिव केशवकुमार विष्ट (दायाँ) ।

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा तेश्रो प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुद बिहीबारदेखि सुरु भएको छ ।

राखेपका सदस्य–सचिव केशवकुमार विष्टले प्रतियोगितामा समावेश विभिन्न ४ खेलका प्रतिनिधिलाई खेल सामाग्री हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरे ।

प्रतियोगितामा पुरुष÷महिला भलिबल, ब्याडमिन्टन र टेबलटेनिस तथा बुद्धिचाल (खुला) गरी ४ खेल समावेश छन् । तीनदिने प्रतियोगितामा ८ विश्वविद्यालयबाट २ सय ५६ खेलाडी सहभागी छन् ।

टेबलटेनिस : टेन्डी र नारायण फाइनलमा

प्रतियोगिताको टेबलटेनिसतर्फ पुरुष सिंगल्समा त्रिभूवन विश्वविद्यालय (टीयू) काद्वय टेन्डी शेर्पा र नारायण घिमिरे फाइनलमा प्रवेश गरेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको खेलमा टेन्डीले काठमाडौं विश्वविद्यालय (केयू) का करण राईलाई ४–३ तथा नारायणले केयू सन्दिप भुर्तेललाई ४–१ ले पराजित गरे ।

महिला सिंगल्समा केयूकी नम्रता ढकालले टीयूकी ज्योति खनाललाई ४–१ तथा केयूकी रेजशा खोटियाले टीयूकी सिजा अर्याललाई ४–० को सेटमा हराउदै फाइनलमा स्थान पक्का गरे ।

भलिबल : टीयूको दुवै टोली सेमिफाइनलमा

तेश्रो प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुदको भलिबलमा प्रतिस्पर्धा गर्दै कृषि (हरियो) र टीयूका खेलाडी ।

भलिबलको पुरुष र महिला दुवैमा टीयू सेमिफाइनलमा पुगेको छ । पुरुषमा टीयूले कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई २५–१७, २५–१३ र २६–२४ को सोझो सेटमा पराजित गर्यो ।

महिलामा टीयूले केयूलाई २५–२, २५–६ र २५–१३ को सीधा सेटमा हरायो । महिलामै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले पोखरा विश्वविद्यालयलाई २५–२१, २५–१६ र २५–१६ को सेटमा पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गर्यो ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा केयू र मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे । केयूले संस्कृत विश्वविद्यालयलाई २५–१५, २५–१८ र २५–२२ तथा मध्यपश्चिमाञ्चलले पूर्वाञ्चल विश्वविद्यालयलाई २५–१०, २५–११ र २५–१४ को सोझो सेटमा पन्छाए ।

ब्याडमिन्टन : क्वाटरफाइनल समीकरण पूरा

ब्याडमिन्टनको पुरुष सिंगल्समा टीयूका जीवन आचार्य, सुदूरपश्चिमाञ्चलका सनी भट्ट, केयूका विष्णु पाण्डे, पूर्वाञ्चलका सूचक खड्का, कृषिका प्रशान्त भट्ट, सुदूरपश्चिमाञ्चलका मनीष ऐर, पोखराका सिर्जन श्रेष्ठ र टीयूका पूर्णबहादुर थापा क्वाटरफाइनलमा पुगे ।

कीर्तिपुरस्थित टीयू हातामा भएको प्रतियोगिताको महिला सिंगल्समा केयूकी शान्ता अर्याल, पूर्वाञ्चलकी अल्का शाह, सुदूरपश्चिमाञ्चलकी हेमा जोशी र हेमन्ती भट्ट, केयूकी आस्मा भट्टराई तथा मध्यपश्चिमाञ्चलकी सुस्मिता आचार्यले क्वाटरफाइनलमा स्थान बनाए ।


प्रतिक्रिया दिनुहोस

Loading...