चिरप्रतिद्धन्द्धी शिवम् न्यू डायमण्ड र एपीएफ उपाधिका लागि भिड्ने

काठमाडौं (खेलदैनिक) । चौथो एनएसटी–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फ उपाधिको लागि शिवम् न्यू डायमण्ड र विभागीय टिम एपीएफ भिड्ने भएका छन् । त्यस्तै, पुरुषतर्फको उपाधिका लागि हेल्प नेपाल र आर्मीले प्रतिस्पर्धा गर्ने छन् ।

त्रिपुरेश्वरमा राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा शिवम् न्यू डायमण्डले विभागीय टिम नेपाल पुलिस क्लबलाई २५–२३, २१–२५, २५–१६ र २८–२६ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । पहिलो सेट मा जित हात पारेपनि दोस्रो सेटमा भने न्यू डायमण्ड पुलिससँग पराजित भएको थियो । तर त्यसपछिका सेटमा राम्रो खेल्दै न्यू डायमण्डले पुलिसलाई ३–१ को सेटमा पारजित गर्न सफल भएको हो ।

न्यू डायमण्डका लागि उत्कृष्ट प्रदर्शन गरेकी प्रतिभा मालीले जम्मा ३८ स्कोरको योगदान दिएकी थिईन् । उनले स्पाईकबाट ३५, ब्लकबाट २ र सर्भिसबाट १ अंक जोडेकी थिईन् । त्यस्तै, न्यू डायमण्डकी मञ्जु गुरूङले स्पाइकबाट १७ गरिन् । न्यू डायमण्डबाटै खेलेकी अरुणा शाहीले स्पाइकबाट ९ स्कोरको योगदान दिदा ब्लक र सर्भिसबाट समान १–१ स्कोर गरिन ।

पुलिसका लागि कामना विष्टले स्पाइकबाट १६ र ब्लकबाट २ अंक जोड्दा मनिषा चौधरीले स्पाइक १५ र ब्लकबाट ३ अंक जोड्न सफल भइन् । महिलातर्फकै अर्को सेमिफाइनलमा एपीएफले आर्मीलाई २५–१२, २५–११ र २५–१९ को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । एपीएफको जितमा सरस्वती चौधरीले स्पाइकबाट १६ स्कोरको योगदान पुर्याउदा ब्लक र सर्भिसबाट समान २–२ अंक जोडेकी थिईन् ।

नेमिका चौधरीले स्पाइकबाट १३ स्कोर गर्दा ब्लक र सर्भिसबाट समान १–१ अंक जोड्न सफल भइन् । पराजित आर्मीकी निरुता ठगुन्नाले स्पाइकबाट ११ स्कोर गरिन् । त्यस्तै, पुरुषतर्फको सेमिफाइनलमा हेल्प नेपालले पुलिस क्लबमाथी २५–२१, १४–२५, २५–२२, २२–२५ र १५–१२ को कठिन जित हात पार्दै फाइनलको यात्रा तय गर्यो ।

पाचौ सेट सम्म धकेलिएको सेमिफाईनल खेलको चौथो सेटमा नेपाल पुलिस १०–१६ को स्कोरमा पछि परेको अवस्थामा पुलिसका कोच सरोज श्रेष्ठले रणनीति परिवर्तन गदै ओपन स्पाईकर राजु शेरचनको स्थानमा सेटर प्रज्वल मल्ललाई कोर्टमा प्रवेश गराए । कोच सरोजले कप्तान समेत रहेका सेटर इम रानामगरलाई स्पाईको भूमिकामा बदले ।

उनको रणनीतिले ६ अंकले पछि परेको पुलिसलाई उत्कृष्ट पुनरागमन गराउदै १९–१९ को अवस्थामा पुर्यो । कप्तान इमले स्पाईक बाट ३ र ब्लकबाट एक अंक पनि दिलाए । रोटसन मार्फत स्पाईक जोनमा पुगेका कुलबहादुरले उत्कृष्ट प्रदर्शन गदै चौथो सेट जिताउदै खेल २–२ सेटको बराबरीमा पुर्याए । पाँचौ तथा निर्णायक सेटमा पनि मध्यान्तरको समयमा ८–६ को अवस्थामा कोर्ट परिवर्तन गरेको पुलिसले त्यस पछि लय गुमायो ।

हेल्प नेपालले लगातर ३ अंक जोड्दै ९–८ को अग्रता लियो । हेल्प नेपालले १०–१० को अवस्थामा पुलिसलाई रोक्दै १२–१० को अग्रता दिलायो । भारतीय खेलाडी ललितकुमारको उत्कृष्ट प्रदर्शनमा हेल्प नेपालले १५–१२ ले नतिजा आफ्नो पक्षमा पार्यो । हेल्प नेपालका लागि भारतीय खेलाडी ललित कुमारले स्पाइकबाट २२ र ब्लकबाट २ स्कोर गरे ।

त्यस्तै, प्रिन्स मल्लिकले स्पाइकबाट ११ र ब्लकबाट ७ स्कोर गर्दा अमृत केसीले स्पाइकबाट ११ र ब्लकबाट १ स्कोर गरे । पराजित टिम पुलिसका लागि कुबहादुर थापाले स्पाइकबाट १९ स्कोर गर्दा सेटर इम रानाले स्पाइकबाट ४, ब्लक र सर्भिसबाट समान २–२ स्कोर गरे ।

पुरुषतर्फकै अर्को सेमिफाइनल खेलमा आर्मीले एपीएफ क्लबलाई २५–१८, २५–२१ र २७–२५ को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । आर्मीको जितमा मानबहादुर श्रेष्ठले स्पाइकबाट १९ र ब्लकबाट १ स्कोर गरे । त्यस्तै, भैरव बमले स्पाइकबाट ९ र ब्लकबाट ४ स्कोर गरे । पराजित एपीएफका लागि मिलन मल्लले स्पाइकबाट १२ र ब्लकबाट २ स्कोर गर्दा टेक अवस्थिले स्पाइकबाट १० स्कोर गरे ।

प्रतियोगिताको महिला तथा पुरुष विजेताले १ लाख ५० हजार प्राप्त गर्ने छन् । यस्तै उपविजेताले १ लाख तथा तेस्रो हुनेले ६० हजार पुरस्कार पाउनेछन् । प्रतियोगितामा दुवै विधातर्फ सर्वोत्कृष्ट हुने खेलाडीले समान १५–१५ हजार पाउनेछन् । यस्तै उत्कृष्ट ब्लकर, लिफ्टर, स्पाइकर, लिब्रो, सर्भर र प्रशिक्षकले समान ५–५ हजार पाउने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...