चितवनमा अन्तर्राष्ट्रिय महिला भलिबल सुरु

चितवन (खेलदैनिक) । प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगितामा नेपाली टिमले शनिवार बिजयी शुरुवात गरेका छन् । चितवनको पटिहानीमा संचालन भएको उद्घाटन खेलमा काठमाण्डौको शिवम् न्युडायमण्डले भारतको हरियाणा पुलिसको महिला टिमलाई ३–० को सेटमा सहजै पराजित गर्यो ।

पहिलो सेटमा २५–२० को जित हात पारेको शिवम् न्यु डायमण्डले दोस्रो र तेश्रो सेट २५–७ र २५–१५ अंकको सहजतामा नतिजा आफ्नो पक्षमा पारेको थियो । घरेलु कोर्टमा दबदबा कायम गदै आएको शसस्त्र प्रहरी बलको एपीएफ क्लबले बंगलादेशको टिमलाई ३–० को सोझो सेटमा स्तबध बनायो ।

समूह ए मा रहेको एपीएफले पाहुना टिम बंगलादेशमाथी २५–६,२५–७ र २५–७ को सहज जित निकाल्यो । तेश्रो खेलमा अर्को बिभागिय टिम नेपाल आर्मीले आयोजक चितवन टाईगरलाई २५–१२,२५–१५ र २५–१० को सोझो सेटमा हरायो । प्रतियोगिताको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका थिए ।

लिगकम नकाउटका आधारमा संचालन हुने प्रतियोगितामा ७ टिमको सहभागिता रहेको छ । समूह ‘ए’ मा एपीएफ, नेपाल आर्मी, चितवन टाइगर र बंगलादेश छन् । शिवम् न्युडायमण्ड,हरियाणा पुलिस र नेपाल पुलिस समूह बी मा छन् । फाल्गुन १ सम्म संचालन हुने प्रतियोगिताका विजेताले २ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले एक लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र, तृतीय हुने टिमले ५० हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र र सान्त्वना हुने टिमले २५ हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछ भने अन्य विभिन्न चार विद्यामा उत्कृष्ट हुने खेलाडीले पाँच हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...