आयोजक शिवम् न्यू डायमण्ड च्याम्पियन

काठमाडौं (खेलदैनिक) । शिवम् न्यू डायमण्ड कप राष्ट्रिय खुल्ला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि आयोजक शिवम् न्यू डायमण्ड एकेडेमीले जित्न सफल भएको छ । विभागीय क्लब एपीएफलाई ३–१ को सेटमा पराजित गर्दै शिवम् न्यु डायमण्डले उपाधिमाथी कब्जा मात्र जमाएन रेडबुल महिला डबल लिग भलिबलको पराजयको बदला पनि लिएको छ ।

नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा मंगलबार सम्पन्न फाइनल खेलको पहिलो सेटमा २४–२३ को अग्रतालाई नतिजामा परिणत गर्न नसक्दा शिवम् न्यु डायमण्डले २६–२४ ले गुमाएको थियो । प्रतिभा मालीको स्पाईकलाई सरस्वती चौधरी र उषा बिष्टको संयुक्त ब्लकबाट छोपे पछि २४–२४ अवस्थालाई सदुपयोग गदै लगातार २ अंक थप्न सफल एपीएफले पहिलो सेटको नतिजा २६–२४ ले आफ्नो नाममा लेखाएर सुखद सुरुवात गरेको थियो ।

पहिलो सेट गुमाए पनि शिवम् न्यू डायमण्डले उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेट जित्दै उपाधि कब्जा गरेको थियो । शिवम् न्यु डायमण्डले एपीएफमाथी लगातर दवाबमा राख्दै २५–२३, २८–२६ र २५–२३ को सेटमा पराजित गर्न सफल भयो । पहिलो सेट गुमाएर लगातार तीन सेट जितेको शिवम् न्युडायमण्डले तेश्रो सेट जित्न निकै पसिना बगाउनु परेको थियो ।

निकै रोमाञ्चक बनेको तेश्रो सेटमा पहिलो पटक एपीएफ २४–२३ को सेट अंकमा पुगेको अवस्थालाई उल्टाउदै शिवम्ले २८–२६ ले सेट आफ्नो पक्षमा पारेको थियो । शिवम् न्यु डायमण्डको जितमा उत्कृष्ट प्रदर्शन गरेकी प्रतिभा मालीले स्पाइकबाट ४४, सर्भिसबाट ५ र ब्लकबाट ३ अंक जोडिन् । त्यस्तै, कृपा अधिकारीले सर्भिसबाट ६ अंक जोडिन् । क्विक स्पाईकर कप्तान ललिता नाथले स्पाइकबाट १०, सर्भिस र ब्लकबाट समान १–१ अंक जोड्न सफल भईन् ।

शिवम् न्यु डायमण्डकी पनमिका राईले सर्भिसबाट ३ र स्पाईकबाट ३ अंक जोड्दा झरना श्रेष्ठले ३ अंक, बालमिका आचार्यल २ अंकको योगदान दिएका थिए । प्रतियोगितामा उत्कृष्ट डिफेन्स गदै सलिना श्रेष्ठले टिमको जितमा महत्वपूर्ण भुमिका निर्वाह गरेकी थिईन् । एपीएफकी सरस्वती चौधरीले टिमका लागि उत्कृष्ट प्रदर्शन गदै स्पाइकबाट २१, सर्भिसबाट ३ र ब्लकबाट २ अंक प्राप्त गरिन् ।

एपीएफकै रेश्मा भण्डारीले स्पाइकबाट १२, ब्लकबाट १ र सर्भिसबाट १ अंक अंकको योगदान गर्दा नेमिका चौधरीले स्पाइकबाट ११, ब्लकबाट २ र सर्भिसबाट १ अंक अंकको योगदान गरेकी थिईन् । त्यस्तै क्विक स्पाईकर उषा बिष्टले स्पाईकबाट ४ ब्लकबाट ७ अंक जोड्दा हिरा केसीले स्पाईकबाट ३ अंक,सर्भिसबाट १ र ब्लकबाट २ अंकको योगदान दिएकी थिईन् । डिफेन्स मनिसा तामाङले ठिक–ठाक प्रदर्शन गरेकी थिईन् ।

सेटरको भूमिकाबाट कप्तान बिनिता बुढाथोकीले उत्कृष्ट प्रदर्शन गरे पनि टिमलाई पराजयबाट बचाउन सकिनन् । बिनिता डिफेन्समा पनि उत्तिकै फुर्तिलो देखिन्थिन् । उनको चतुराई पुर्बक गरेको प्लेसिङबाट टिमका लागि ३ अंक जोड्दा सर्भिसबाट एक अंक थपेकी थिइन् ।

शिवम् सिमेन्ट मुख्य प्रायोजनमा संचालित प्रतियोगिताको उपाधि जितेको न्यु डायमण्डले १ लाख ५१ हजार नगदसहित ट्रफि प्राप्त गरेको छ । त्यस्तै, उपविजेता बनेको एपीएफले नारायणबहादुर महर्जनले प्रायोजन गरेको १ लाख १ हजार नगदसहित ट्रफि हात पारेको छ ।

मंगलबार नै तेस्रो स्थानको लागि भएको खेलमा आर्मीले पश्चिमाञ्चलको टप्स उच्च माविलाई ३–० को सोझो सेटमा हरायो । ओपन स्पाईकर निरुता ढगुन्नाको उत्कृष्ट प्रदर्शनमा आर्मीले एपीएफलाई २५–१६, २६–२४ र २५–२१ को सेटमा पराजित गरेको थियो ।

तेस्रो स्थान हात पारेको आर्मीले भलिबल प्रेमी प्रवासी बुद्धीमान तामाङले प्रायोजन गरेको ५१ हजार प्राप्त ग¥यो । चौथो भएको टप्सले २१ हजार नगद प्राप्त गरेका छ । चौथो स्थानमा रहेको टप्सले हाल जापन निवासी नेपाल भलिबल संघका जापान शाखाका अध्यक्ष नबिन गुरुङले प्रायोजन गरेको नगद २१ हजार प्राप्त गर्न सफल भयो ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीको उपाधि शिवम् न्युडायमण्डकी प्रतिभा मालीले जितिन् । उनले शेरवहादुर खड्का स्मृति प्रतिष्ठानले सौजन्य गरेको नगद १० हजार प्राप्त गरिन् । त्यस्तै, स्पाईकर एपीएफकी सरस्वती चौधरी, बेष्ट ब्लकर आर्मीकी संगम महत्तो, बेष्ट क्वीकर शिवम् न्यु डायमण्डकी ललिता नाथ, बेष्ट सर्भर शिवम् न्यु डायमण्डकै पनामिका राई, बेष्ट लिब्रो शिवम् न्यु डायमण्डकी सलिना श्रेष्ठले जितिन् । उनले नेपाल भलिबल संघकी सदस्य ज्योती केसीले प्रायोजन गरेको नगद ५ हजार प्राप्त गरिन् ।

त्यस्तै बेष्ट सेटरमा शिवम् न्यु डायमण्डकी कृपा अधिकारी घोषित भइन् । उनीहरुले जनहि ५ हजार नगद प्राप्त गर्दा उत्कृष्ट प्रशिक्षकमा शिवम् न्यु डायमण्डका कुमार राई घोषित भए । प्रशिक्षक राईले नेपाल भलिबल संघकी कोषाध्यक्ष सुनकेसरी मालीबाट सौजन्य गरिएको नगद १५ हजार प्राप्त गरे ।

बिजयी टिमलाई प्रमुख अतिथि पुर्व शिक्षा मन्त्री गिरिराजमणि पोखरेल,पूर्व युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाईली,नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शार्मा,महासचिव जितेन्द्र वहादुर चन्द,मुख्य प्रायोजक शिवम् सिमेन्ट लिमिटेडका उपाध्यक्ष सजन देवकोटा,सिनियर मार्केटिङ प्रमुख केशब अर्याल,सिटी ट्रावल एण्ड टुरका डाइरेक्टर शिरवहादुर तामाङ,नेपाल भलिबल संघकी सदस्य ज्योती केसीलगायतले पुरस्कृत गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...