उपाधि होडमा रहेका एपीएफ र न्यु डायमण्डको दोहोरो जित

काठमाडौं (खेलदैनिक) । उपाधि होडमा रहेका प्रतिद्धन्दी एपीएफ र शिवम् न्यु डायमण्ड एकेडेमीले १३औं रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगितामा दोहोरो जित निकालेका छन् । बिहिवार विभागीय टिम एपीएफले दुवै खेलमा आर्मीलाई ३–० को सोझो सेटमा हरायो ।

प्रतियोगिताको एपीएफ र आर्मीबीचको पहिलो चरणको खेलमा खेल बर्षाको कारण स्थिगित भएको थियो । त्यही पहिलो चरणअन्तर्गत रोकिएको खेलमा एपीएफले आर्मीलाई २५–१२, २५–२० र २५–१९ को सेटमा हरायो । दोस्रो चरणको लिगको खेलमा पनि एपीएफले आर्मीलाई २५–१४, २५–१७ र २५–१८ को स्कोरमा पराजित गर्न सफल भयो ।

त्यस्तै बिहीबार भएको खेलमा न्यु डायमण्डले चितवनको मेघौली र पश्चिमाञ्चलको टप्स उच्चमाविलाई पराजित गर्दै दोहोरो जित निकालेको हो । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा भएको खेलमा न्यू डायमण्डले मेघौलीलाई २५–२२, २५–२२ र २५–२० को सोझो सेटमा पराजित गर्न सफल भयो । दोस्रो खेलमा टप्स उच्चमाविलाई पनि न्यु डायमण्डले सोझो सेटमा नै पराजित गर्न सफल भयो । न्यु डायमण्डले २५–२०, २५–२३ र २५–८ को सेटमा टप्सलाई पराजित गरेको हो ।

प्रतियोगिताअन्तर्गत बिहीबार नै भएको अर्को खेलमा पुलिसले मेघौलीलाई सोझो सेटमा पराजित गरेको छ । पुलिसले मेघौलीलाई २५–११, २५–८ र २५–१६ को स्कोरमा पराजितगर्न सफल भयो ।

प्रतियोगिताको शीर्ष स्थानमा भने न्यु डायमण्ड नै रहेको छ । १६ खेल खेलेको न्यु डायमण्ड १५ खेलमा जित र एक खेलमा हार ब्यहोर्दै ४६ अंकको साथ लिगको शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको एपीएफले १४ खेल खेल्दै शतप्रतिशत जितका साथ ४१ अंक बनाउदै लिगको दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै, लिगको तेस्रो स्थानमा भने टप्स उच्च मावि रहेको छ । टप्सको १४ खेलबाट ११ खेलमा जित ३ खेलमा हारसहित ३३ अंक जोडेको छ । लिगको चौथो स्थानमा रहेको पुलिसको समान १४ खेलबाट १० खेलमा जित र ४ खेलमाहारसहित ३० अंक रहेको छ । यता, श्रीगाँउ १७ खेलबाट ७ खेलमा जित र ८ खेलमा हार ब्यहोर्दै २१ अंकको साथ लिगको पाचौं स्थानमा छ भने छैटौ स्थानमा रहेको मेघौलीको १६ खेलबाट ४ खेलमा जित र १२ खेलमा हारसहित १३ अंक रहेको छ ।

प्रतियोगिताको विजेताले ३ लाख २५ हजार, उपबिजेताले १ लाख ७० हजार र तेस्रो हुनेले ८० हजार नगद पुरस्कार पाउने छन् । यस्तै चौथौ हुनेले ५० हजार, पाचौँले ४० हजार, छैठौंले ३० हजार र सातौं हुने टोलीले २० हजार नगद प्राप्त गर्नेछन् ।

प्रतियोगिताको चार विधामा उत्कुष्ट खेलाडीले युएमपावर म्याक्स स्कुटर पाउने छन् । बेष्ट प्लेयर, राइजिङ प्लेयर, प्लेयर अफ दि इयर र प्लेयर अफ दि सिरिजले स्कुटर पाउने छन् । प्रतियोगिताका बेष्ट स्पाईकर, डिफेन्स, सेटर, सर्भिर, ब्लकर, उत्कुष्ट क्वीकर र उत्कुष्ट कोचले जनही ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिता शुरु भएको दिनदेखि अन्तिम समयसम्म टिकट काटेर खेल हेर्न आउने दर्शक मध्ये लक्की ‘ड्र’ बाट एक जनाले पावरम्याक्स स्कुटी प्राप्त गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...