महिला डबल लिग भलिबललाई रेडबुलको साथ

काठमाडौं (खेलदैनिक) । ढोरपाटन महिला डबल लिग भलिबलको १३ औ संस्करणलाई इनर्जी ड्रिङ्स रेडबुलले मुख्य प्रायोजन गरेको छ । नेपालकै प्रतिष्ठत प्रतियोगिताको रुपमा पहिचान बनाउन सफल महिला डबल लिग भलिबल “रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल”को नयाँ नाम बाट संचालन हुने छ ।

मंगलवार आयोजक ढोरपाटन स्पोर्टस् क्लबका अध्यक्ष मनबीर छन्त्याल र मुख्य प्रायोजक गोर्खाबु्रअरीका मार्केटिङ मेनेजर इन्द्र रेग्मीबीच सम्झौता–पत्र आदन–प्रदान भयो । “रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल”का लागि मुख्य प्रायोजक रेडबुलले ३ बर्षका लागि प्रायोजन गर्ने सम्झौता गरेको छ । प्रत्येक बर्ष ११ लाखका दरले ३ बर्षमा प्रायोजन बापत ३३ लाख उपलब्ध गराउने पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष छन्त्यालले जानकारी गराए ।

प्रतियोगिताले सह–प्रायोजकको रुपमा युएम आईएमइ अर्टोमोटिप्स,सामाखुसी बोडिङ स्कुल (सेब)बिजी मल र जिमी गु्रप साथी पाएको छ । युएम आईएमइ अर्टोमोटिप्स प्रालीले चार उत्कृष्ट खेलाडी र एक दर्शकका लागि जम्मा ५ स्कुटरको प्रायोजन गर्ने भएको छ । त्यस्तै अर्को सह–प्रयोजक सेब स्कुलले नगद २ लाखको प्रायोजन गर्ने भएको आयोजकले जनाए ।

नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा माघ ४ देखि १९ सम्म हुने प्रतियोगितामा विभागीय टोली सशत्र प्रहरीको एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस,न्यु डायमन्ड एकेडमी, न्यु डायमन्ड स्पोर्ट्स क्लब, पोखराको टप्स हाई स्कुल, पुर्वान्चल क्षेत्रिय महिला भलिबल, काठमाण्डौंको पारामाउण्ट हाइ स्कुल, भक्तपुरको स्प्रिङडेल इङलिस स्कुल, श्री गाउँ स्पोर्ट्स विकास समिति, मेघौली स्पोर्ट्स फाउन्डेसन र थ्री स्टार एकेडमीको सहभागिता रहेको छ ।

साबिक बिजेता रिड मोडल कलेजले भने सहभागिता जनाएको छैन । प्रतियोगितामा सहभागि टिमले विदेशी ४ खेलाडी राख्न पाउने प्रावधान छ । तर प्लेइङ सिक्समा भने ३ खेलाडीे मात्र कोर्टमा उत्रन पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले ३ लाख २५ हजार र उपबिजेताले १ लाख ७० हजार र तेस्रो हुनेले ८० हजार नगद पुरस्कार पाउने छन् । यस्तै चौथौ हुनेलाई ५० हजार, पाचौँ हुनेले ४० हजार, छैठौं हुनेले ३० हजार र सातौं हुने टिमले २० हजार नगद प्राप्त गर्ने छन् ।

प्रतियोगिताको अर्को आकर्षकको रुपमा रहेको ५ युएम पावरम्याक्स स्कुटर हो । चार विधामा उत्कुष्ट खेलाडीले युएम पावरम्याक्स स्कुटर पाउने छन् । बेष्ट प्लेयर, राइजिङ्ग प्लेयर, प्लेयर अफ दि इयर र प्लेयर अफ दि सिरिज बन्ने खेलाडीले स्कुटरका हकदार हुने छन् । प्रतियोगिताका बेष्ट स्पाईकर, डिफेन्स, सेटर, सर्भिर, ब्लकर, उत्कुष्ट क्वीकर र उत्कुष्ट कोचलाई जनही ५ हजार पुरस्कार पनि दिइने आयोजकले जनाएको छ ।

प्रतियोगिताको १३ औं संस्करणमा एक दर्शकले समेत स्कुटर पाउने भएका छन् । प्रतियोगिताको अन्तिम दिन टिकट काटेर खेल हेर्न गएकामध्ये एक दर्शकले लक्की ड्रबाट स्कुटर जित्ने छन् । प्रत्येक दिन एक दर्शकले लक्की ड्रबाट डाइमण्ड मोबाइल पनि पाउनेछन् ।

नेपाल भलिबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्ले सहयोग गरेको छ । पत्रकार सम्मेलन तथा साइनिङ सेरोमनिमा नेपाल भलिबल संघ अध्यक्ष मनोरन्जन रमण शर्माले बल र नेट ढोरपाटन क्लबका अध्यक्ष छन्त्याललाई हस्तान्तरण गरेका थिए ।

पत्रकार सम्मेलनमा नेपाल भलिबल संघका उपाध्यक्ष उपेन्द्र यादब, महासचिव जितेन्द्रवहादुर चन्द, सह प्रायोजक सेब स्कुलका प्रिन्सिपल युवराज थापा, युएम आईएमइ अर्टोमोटिप्सका डिबिजन प्रमुख उज्वल जोसी, आयोजक क्लबका उपाध्यक्ष किरण घायल, महासचिव देबिन्द्र घर्तिमगरलगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...