डच भलिबल संघसँग पाँच बुँदे सम्झौता

काठमाडौं । नेपालको राष्ट्रिय पुरुष भलिबल टोलीलाई प्रशिक्षण दिन नेपाल आएका नेदरल्यान्डका प्रशिक्षक म्याट भान विजललाई स्वागत गरेको छ । राजधानीमा आयोजित कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्मा र महासचिव जितेन्द्रबहादुर चन्दले स्वागत गरे । प्रशिक्षक विजल र नेदरल्यान्ड भलिबल संघका विकास व्यवस्थापक म्याट भान तरेल सोमबार विहान नेपाल आएका हुन् ।

स्वागत कार्यक्रममा नेपाल भलिबल संघ र नेदरल्यान्ड भलिबल संघबीच पाँच बुँदे सम्झौता भएको छ । पाँच बुँदे सम्झौतापत्रमा नेपाल भलिबल संघका अध्यक्ष शर्मा र नेदरल्यान्ड भलिबल संघका विकास व्यवस्थापक म्याट भान टरेलले हस्ताक्षर गरे । सम्झौतामा नेदरल्यान्ड भलिबल संघको सहयोगमा सन् २०१९ सम्म राष्ट्रिय टोलीलाई प्रशिक्षण दिन प्रशिक्षक उपलब्ध गराउने, बल र नेटलगायतका सामग्री उपलब्ध गराउने, भौतिक पूर्वाधार निर्माणकालागि सहयोग जुटाउने, दुवै राष्ट्रका खेलाडीलाई अन्तर्राष्ट्रिय एक्सपोजरकालागि पहल गर्ने र नेपाली प्रशिक्षकलाई तालिम दिने बुँदा समेटिएका छन् ।

कर्यक्रममा विकास व्यवस्थापक टरेलले पाँचौं पटक नेपाल भ्रमणमा आएको जनाउँदै नेपाली भलिबललाई उचाईमा पु¥याउन नेदरल्यान्ड भलिबल संघले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले नेदरल्यान्डबाट उपलब्ध गराउने सहयोगको पारदर्शीताकालागि दुवै संघका प्रतिनिधि रहने गरी समिति गठन गरिने बताए ।

नेदरल्यान्डका प्रशिक्षक विजलले नेपाली टोलीको खेल युट्युवमा भिडियो हेरेको बताउँदै नेपाली टोली प्राविधिक रुपमा उत्कृष्ट रहेको बताए । उनले भौतिक पूर्वाधार निर्माणमा सहयोग जुटाउन पहल गर्ने प्रतिबद्धता जनाए ।


प्रतिक्रिया दिनुहोस

Loading...