नुवाकोट तेक्वान्दोमा सापकोटाको नेतृत्व

काठमाडौं (खेलदैनिक) । नुवाकोट जिल्ला तेक्वान्दो संघको अध्यक्षमा शरण उत्सुक सापकोटा निर्वाचित भएका छन् । नुवाकोटको बटारमा सम्पन्न चौथो जिल्ला अधिवेसनबाट उनी लगायत सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

संघको उपाध्यक्षमा रमेश श्रेस्ठ, सचिवमा शरण घले र कोेषाध्यक्षमा रामचन्द्र तामाङ चयन भए । यस्तै सदस्यहरुमा ध्रुुवकुमार रावल, शिवलाल श्रेष्ठ, बुद्धिबहादुर तामाङ, श्रीकृष्ण श्रेष्ठ र महेन्द्र थापा मगर छन् ।

संघको नवनिर्वाचित पदाधिकारीहरुले एक कार्यक्रमका बिच सपथ ग्रहण गरेका छन् । समारोहका प्रमुख अतिथी नुवाकोट तेक्वान्दो संघका संरक्षक, पर्यटन ब्यवसायी सुमन पाण्डेले नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र बितरण गरे ।

सो अवसरमा उहाँले तेक्वान्दो खेलाडी उत्पादनमा कहलिएको जिल्लाका रुपमा परिचित नुवाकोटले आगामी दिनहरुमा अरु राम्रा खेलाडी उत्पादन गर्न आवश्यक भएको औल्याउनु भयो ।

यस्तै वागमती प्रदेश अध्यक्ष केशब पुरीले तेक्वान्दोका राम्रा खेलाडी उत्पादनमा कमि आएकोले त्यसको कारण खोजेर जिल्ला संघहरु अघि बढ्नु पर्ने बताए । डोजाङका प्रमुखहरुलाई बलियो बनाएको खण्डमा तेक्वान्दोको विकास हुने उनको भनाई थियो ।

नवनिर्वाचित अध्यक्ष शरणउत्सुक सापकोटाले तेक्वान्दोको खेलाडी उत्पादन गर्नलाई प्रशिक्षणका क्रियाकलाप सञ्चालन गर्ने, अघिल्ला समितिको अधुरा कृयाकलापलाई पूरा गर्ने प्रतिबद्धता जनाए ।

विदुर नगरपालिका वडा नम्बर २ मा रहेको कभर्ड हलमा तेक्वान्दोको खेल सञ्चालन गर्नलाई विशेष प्राथमिकता दिने र खाली समयमा मात्र अन्य खेल सन्चालनलाई अनुमती दिने अध्यक्ष सापकोटाले बताए ।

संघले वर्षमा एक पटक प्रतियोगिता सञ्चालन गर्ने, पालिका स्तरिय समिति गठन गर्ने लगायतका गतिविधि सञ्चालन गर्ने समेत बताए ।

कोरोना भाइरसको कारण तेक्वान्दो लगायतका खेलकुदको क्षेत्र समेत नराम्ररी प्रभावित बनेको छ । खेलाडीहरुलाई विशेष प्राथमिकतामा राखेर कोरोना भाइरस बिरुद्दको खोप उपलब्ध गराउन विशेष पहल गर्दै आएको र कतिपयले खोप लगाइसको समेत जिल्ला तेक्वान्दो संघ नुवाकोटले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...