दृष्टिविहिनलाई आयशाको सहयोग

काठमाडौं (खेलदैनिक) । दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले दृष्टिविहिनहरुलाई शुक्रबार खाद्यान्न सहयोग गरेकी छिन् ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका कारण विपन्नहरुलाई आर्थिक रुपमा निकै कठिनाई भइरहेको छ । कीर्तिपुरस्थित नगाँउमा रहेका ३५ दृष्टिविहिनलाई त्यहिं पुगेर आयशाले खाद्यान्न हस्तान्तरण गरेकी हुन् ।

उक्त राहतमा १० केजी चामल, दाल १ केजी, चिउरा १ केजी, तेल १ लिटर, नुन १ केजी, भुजा १ केजी र चाउचाउ ४ प्याकेट रहेको छन् । सागमा पदक जितेवापत सरकारले हालै नगद पुरस्कारबाट सम्मानित गरेपछि आयशाले सोही रकमबाट सहयोग गरेको बताईन् ।

सहयोग हस्तान्तरण गरेपछि आयशाले भनिन्, अरु खेलाडीहरुले पनि यो कठिन अवस्थामा सहयोग गरिरहनु भएको छ । आफुले सक्दो सहयोग गर्नुपर्छ भन्ने मलाई पनि लागेको छ । त्यसमाथि दृष्टिविहिनहरुलाई सहयोग गर्दा थप आनन्द महसुस गरिरहेको छु ।

स्मरण रहोस, दक्षिण एसियाली खेलकुदकी कास्य पदक विजेता समेत रहेकी आयशाले मंसिरमा स्वदेशमा सम्पन्न सागको तेक्वान्दोतर्फ पुम्सेमा दोहोरो स्वर्ण पदक जितेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस

Loading...