टर्कीमा नेपाली पारा खेलाडीलाई अन्तर्राष्ट्रिय पदक

कांस्य पदक जितेपछि विक्रम श्रेष्ठ (बीच) प्रशिक्षक कविराज नेगी लामा र टिम म्यानेजर रामचन्द्र श्रेष्ठका साथ ।

काठमाडौं (खेलदैनिक) । टर्कीको एन्टाल्यामा आयोजना भएको आठौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडी विक्रम श्रेष्ठले कांस्य पदक जितेका छन् । बुधबार पी–३२ एकल पुम्सेमा प्रतिस्पर्धा गरेका विक्रम सेमिफाइनलमा रुसका एन्ड्रेई ग्राभोस्कीसँग २०–७ अंकले पराजित हुँदै कांस्यमा सीमित भएका हुन् ।

पहिलो खेलमा बाई पाएका विक्रमले त्यसपछि भएको भिडन्तमा मोरक्कोका विलाल खट्टावीलाई ६–५ अंकले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको नेपाली टोलीका प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिए ।

च्याम्पियनसिपको यू–३० स्पर्धामा रुसका एन्ड्रेई ग्राभोस्किट पहिलो, क्रोएसियाका दामाजोव भुसिस दोस्रो, नेपालका विक्रम श्रेष्ठ र इटालीका रिकार्डो जिम्मरम्यान संयुक्त रुपमा तेस्रो भएका थिए ।

पारा पुम्सेमा नेपालले पहिलो अन्तर्राष्ट्रिय पदक जितेको प्रशिक्षक लामाले जनाएका छन् । विक्रमले पहिलो सहभागितामै कांस्य पदक जितेका हुन् ।

ग्यारोगीतर्फ नेपालकी पलेसा गोवद्र्धनले ब्राजिलकी डेबोरा मेनेजेजसँग बुधबार प्रतिस्पर्धा गर्ने छिन् । उनले के–४४ क्याटगोरीको ४९ केजीमुनि प्रतिस्पर्धा गर्ने छिन् ।

च्याम्पियनसिपमा ६९ राष्ट्रका ४ सय २५ खेलाडी सहभागी भएको प्रशिक्षक लामाले जानकारी दिए । सन् २०२० मा जापानको टोकियोमा आयोजना हुने ३२ औं गृष्मकालिन ओलम्पिकको छनोटका रुपमा वल्र्ड च्याम्पियनसिपलाई हेरिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...