त्रिभुवन आर्मी च्याम्पियन

काठमाडौं (खेलदैनिक) । प्रथम एभरेस्ट राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा विभागीय टोली त्रिभुवन आर्मी क्लब च्याम्पियन भएको छ । ललितपुरको भैंसेपाटीमा सम्पन्न च्याम्पियनसिपमा १९ स्वर्ण, १८ रजत र १० कांस्यका साथ आर्मी च्याम्पियन बनेको हो ।

च्याम्पियनसिपमा सीतापाइला तेक्वान्दो डोजाङ दोस्रो भयो । सीतापाइलाले १९ स्वर्ण, ५ रजत र ७ कांस्य जित्यो । यसैगरी तेस्रो भएको कोटेश्वर डोजाङले ५ स्वर्ण र ४ रजत प्राप्त गर्यो । टिम च्याम्पियन बनेको आर्मीले एक लाख, दोस्रो सीतापाइलाले ५० हजार र तेस्रो भएको कोटेश्वरले २५ हजार रुपैयाँ प्राप्त गर्यो ।

च्याम्पियनसिपमा बाराका सुदीप नेपाली, कोटेश्वरकी सुष्मिता तामाङ उत्कृष्ट खेलाडी घोषित भए । यस्तै सुरेन्द्र खड्गी उत्कृष्ट रेफ्री चुनिए । उनीहरुले जनही १० हजार रुपैयाँ प्राप्त गरे ।

तीन दिने च्याम्पियनसिपमा एक सय तौल समूहमा एक हजार दुई सय खेलाडीले प्रतिस्पर्धा गरेको एभरेस्ट वल्र्ड क्लास तेक्वान्दो एकेडेमी भैंसेपाटीका अध्यक्ष केशव थापाले जानकारी दिए । विजेतालाई प्रतिनिधिसभा सांसद पम्फा भुसाल र नवराज सिलवालले पुरस्कार प्रदान गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...