तेक्वान्दोमा तेश्रो दिन पनि पदकविहीन

काठमाडौं (खेलदैनिक) । एसिायाली खेलकुदमा नेपाललाई सर्वाधिक पदक दिलाएको तेक्वान्दो इन्डोनेसियाको जकार्तामा जारी १८ औं एसियाली खेलकुदअन्तर्गत तेश्रो दिन पनि पदकविहीन बनेको छ । एसिायली खेलकुदमा नेपालले तेक्वान्दोबाट १ रजत र १३ कांस्य गरी जम्मा १४ पदक जितेको छ ।

तेश्रो दिन नेपालबाट १ पुरुष र २ महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यसमा एक खेलाडीले मात्र पहिलो चरण पार गर्न सफल हुदाँ दुई खेलाडी पहिलो चरणमै रोकिए ।

महिला ५७ केजीमुनि ज्ञानी चुनारा क्वाटरफाइनलमा फिलिपिन्सकी लोपेज पाउलिन लोइससंग २०–० को फराकिलो अन्तरले पराजित भइन् । त्यसअघि ज्ञानीले पहिलो चरणमा भुटानकी छोडेन किन्जाङलाई २८–६ ले हराउदै क्वाटरफाइनलमा स्थान पक्का गरेकी थिइन् ।

महिला ६७ केजीमाथिको पहिलो चरणमा ओलम्पियन निशा रावललाई चीनकी गाउ पानले २२–६ ले निराश पारिन् । पुरुष ८० केजीमाथि अनोज पुजारी पहिलो चरणमै सीमित भए । काजाकिस्तानका झापारोभ रुसलानले अनोजमाथि २१–० को सहज जित दर्ता गरे ।

बुधबार नेपालका दुई पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । भुपेन्द्र श्रेष्ठले पुरुष ८० केजीमुनि तथा वीरबहादुर महराले ६३ केजीमुनि तौलसमूहमा खेल्नेछन् ।

पौडी : शिरीष ४६ औं स्थानमा

एसियाली खेलकुदको पौडीमा नेपालका शिरीष गुरुङले पुरुष ५० मिटर फ्रिस्टायलमा ४६ औं स्थान हात पारेका छन् । ५१ खेलाडी सहभागी उक्त स्पर्धामा शिरीषले निर्धारित दूरी २६.३३ सेकेन्डमा पूरा गरे । ७ खेलाडीले भाग लिएको दोश्रो हिटमा भने शिरीष तेश्रो स्थानमा रहे ।

यो स्पर्धाको राष्ट्रिय कीर्तिमान शिरीषकै नाममा छ । उनको नाममा २५.८८ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ । बिहीबार शिरीषले १ सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन् । त्यसअघि बुधबार गौरिक सिंहले २ सय मिटर फ्रिस्टायल र शुभम् श्रेष्ठले १ सय मिटर ब्रेस्टस्ट्रोकमा सहभागिता जनाउने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...