काठमाडौं (खेलदैनिक) । नेपाल इन्टरनेश्नल तेक्वान्दो(आईटिएफ) संघको आयोजनमा दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि काठमाडौंमा शुरु भएको छ । प्रतियोगिताको उदघाट्न एक कार्यक्रमकाबीच उपराष्ट्रपति नन्दवहादुर पुनले गरे ।
प्रतियोगिताको पहिलो दिन नेपालकी सोनी खड्का र तुलसा राजथलाले स्वर्ण जितेका छन् । सोनीले महिला सिनियर ब्ल्याक बेल्ट तेश्रो डानमा स्वर्ण जित्दा तुलसाले महिला सिनियर ब्ल्याक बेल्ट चौथो डानमा स्वर्ण हात पारेकी हुन् ।
त्यस्तै महिला सिनियर ब्ल्याक बेल्ट दोश्रो डानमा निस्मा बस्यालले स्वर्ण हात पारिन् । तीन दिने प्रतियोगितामा नेपाल लगायत भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, चीन, तुर्किमिनिस्तानका ६ सय खेलाडीले १५० स्वर्ण,१५० रजत र ३ सय कास्य पदकका प्रतिस्पर्धा गदैछन् ।
प्रतियोगितामा जुनियर र सिनियरका उमेर समूह,तौल समूहमा स्पाईरिङ, टिम स्पाईरिङ, एकल प्याट्रन, टिम प्याट्रन, सेल्फ डिफेन्समा इभेन्टहरु समाबेश गरिएको छ । उद्घाटनका अवसरमा आयोजक नेपाल आईटिएफका अध्यक्ष अन्जन धमलाले उपराष्ट्रपति पुन समक्ष मायाको चिनो प्रदान गरेका थिए ।
सोही अवसरमा उपराष्ट्रपति पुनले युवा तथा खेलकुद मन्त्री जगतवहादुर सुनार(बिश्वकर्मा)नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठ,संघीय सभासद् नारायण प्रसाद खतिवाडा,पुर्व मन्त्री कर्ण थापालगायतलाई मायाको चिनो प्रदान गर्नु भएको थियो । असार ३१ गते सम्म हुने प्रतियोगिताको अनुमानित खर्च ४० लाख रहको छ ।