नेपाली तेक्वान्दोले कम्बोडियामा प्रतिस्पर्धा गर्ने

कम्बोडिया जाने तेक्वान्दो टोली बिदाइपछि सामूहिक तस्विर खिचाउँदै ।

काठमाडौं (खेलदैनिक) । । कम्बोडियामा हुने एसियन कुकिवन तेक्वान्दो हान्मदाङमा सहभागी हुने नेपाली तेक्वान्दो टोलीको बिदाई गरिएको छ ।

मंगलबार दिल्लीबजारमा आयोजित कार्यक्रममा ९ सदस्यीय नेपाली तेक्वान्दो टोलीलाई नेपाल तेक्वान्दो संघका उपाध्यक्ष सञ्जिव रेग्मी र सदस्य हेमन्त डाँगीले बिदाई गरे ।

रेग्मीले प्रतियोगितामा बलियो आत्मबलका साथ उत्कृष्ट प्रदर्शन गर्दै सर्वोत्कृष्ट हुन शुभकामना व्यक्त गरे । आगामी १ देखि ३ डिसेम्बरसम्म कम्बोडियाको राजधानी नमफेनमा हुने कुकिवन तेक्वान्दो हान्मदाङमा ५ खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् । सोही अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका ४ रेफ्रीले निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।

कम्बोडिया तेक्वान्दो संघ र कम्बोडिया शिक्षा, युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा हुने हान्मदाङ तेक्वान्दोमा प्रेमबहादुर भण्डारी नेतृत्वको नेपाली खेलाडीमा अनिष महर्जनले पावर ब्रेकिङ, आषिश महर्जनले नाइफ ह्यान्ड ब्रेकिङ, प्रविन थापाले हाइ फ्रन्ट किक र अर्जुन रानामगरले ब्याक किकमा प्रतिस्पर्धा गर्नेछन् ।

अनिष टिम प्रशिक्षकसमेत हुन् । नेपाली टोलीका नेतृत्व भण्डारीले नाइफ ह्यान्ड ब्रेकिङ र ग्रुप फाइटमा समेत प्रतिस्पर्धा गर्नेछन् । अनिष, आषिस र अर्जुनले ग्रुप फाइटमा समेत प्रतिस्पर्धा गर्नेछन् ।

टोलीका प्रशिक्षक अनिषले हान्मदाङ अन्तर्गत पावर ब्रेकिङमा सन् २०१४ मा रजत र २०१५ मा स्वर्ण पदक जितेका थिए । नेपालको ४ निर्णायकमा टोनिल कर्मचार्य , नविनकुमार श्रेष्ठ, नोर्बु लामा र योङ दल क्वान छन् । नेपाली टोली बुधबार त्यसतर्फ प्रस्थान गर्नेछन् ।

च्याम्पियनसिपमा १८ राष्ट्रको सहभागिता रहने टिम व्यवस्थापक प्रेमबहादुर भण्डारीले बताए । यसअघि पोखरामा हान्मदाङ अन्तर्राष्ट्रिय तेक्वान्दो भएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...