आयोजकका प्रितम प्रिक्वाटरफाइनलमा

अन्तर एयरलायन्स टेबलटेनिसको पुरुष सिंगल्समा निगमका प्रितम प्रधान हिमालयनका प्रभात भण्डारी विरुद्ध प्रतिस्पर्धा गर्दै ।

काठमाडौं (खेलदैनिक) । आयोजक नेपाल वायु सेवा निगमका प्रितम प्रधान अन्तर एयरलायन्स टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा प्रितमले २ खेलमा जित हात पारे । पहिलो खेलमा प्रितमले हिमालयनका प्रभात भण्डारीलाई १२–१०, ११–६ र १३–११ को सोझो सेटमा पराजित गरे । अर्कोमा प्रितमले ड्रुक एयरका सुविर श्रेष्ठलाई ११–९, ११–५ र ११–२ को सीधा सेटमा हराए ।

पुरुष सिंगल्समै चाइना इस्टर्नका सविरमान सिंह पनि आफ्नो खेल जित्दै प्रिक्वाटरफाइनलमा पुग्न सफल भए । उनले कोरियन एयरका विकास खड्को चुनौती ११–६, ११–३ र ११–२ को सोझो सेटमा पन्छाए ।

निगमको ५९ औं वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगिताको निगमकै महाप्रबन्धक सुगतरत्न कंशाकारले एक कार्यक्रमबीच उद्घाटन गरे ।

प्रतियोगितामा ५ स्पर्धामा विभिन्न १५ एयरलायन्सका ४७ प्रतिस्पर्धीको सहभागिता रहेको निगमअन्तर्गत खेलकुद तथा क्रियकलाप उप कमिटीका संयोजक नवीनबहादुर शाक्यले जनाएका छन् ।

सिंगल्सतर्फ पहिलो हुनेले काठमाडौं–हङकङ–काठमाडौं, दोश्रोले काठमाडौं–क्वालालम्पुर–काठमाडौं र तेश्रोले काठमाडौं–बैंकक–काठमाडांैको हवाइ टिकट पुरस्कार स्वरुप प्राप्त गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...