सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिसको तयारी

काठमाडौं (खेलदैनिक) । ललितपुर टेबलटेनिस क्लबको आयोजनामा चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता माघ १२ गतेदेखि हुने भएको छ ।

आयोजक क्लबले बुधबार पत्रकार सम्मेलन गरी सो बारे जानकारी गरायो । नेपाल टेबलटेनिस संघको तत्वावधान तथा स्पिन इभेन्ट प्रा.लि. को व्यवस्थापनमा हुन लागेको प्रतियोगितामा करिब १ हजार खेलाडीको सहभागिता रहने क्लबका अध्यक्ष उर्दिप जोशीले जानकारी गराए ।

प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, थाइल्यान्ड, युएइ, कोरियालगायतका राष्ट्र सहभागी हुने जानकारी गराइयो । प्रतियोगिता निर्देशक शंकर गौतमले बंगलादेश र पाकिस्तानबाट राष्ट्रिय खेलाडीको सहभागिता रहने जानकारी दिए ।

पुरुष–महिला सिंगल्स र टिम, भेट्रानको पुरुष ४० वर्षमाथि र ५५ वर्षमाथि तथा महिलामा ४० वर्षमाथि गरी ७ स्पर्धामा खेल हुने छ । सिंगल्स र टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०÷१० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । भेट्रानतर्फ विजेतालाई १० हजार, उपविजेतालाई ५ हजार तथा तेश्रोलाई २ हजार ५ सय नगदबाट पुरस्कार गरिने छ ।

प्रतियोगिताको अनुमानित बजेट २१ लाख ५० हजार रुपैयाँ रहेको छ । त्यसमा मुख्य प्रायोजक सम्झना ल्याबोरेटरी क्लिनिक प्रा.लि. ले ५० प्रतिशत रकम प्रायोजन गरिदिने भएको छ ।

पत्रकार सम्मेलनमै आयोजक क्लब र सम्झनाबीच प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भयो । क्लबका अध्यक्ष जोशी र सम्झनाकी निर्देशक रजना श्रेष्ठ जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरे । चारदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुने छ ।


प्रतिक्रिया दिनुहोस

Loading...